२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीमा मानसिक रोग बढ्दो

3756 Shares
Spread the love

अस्ट्रेलिया । उच्च शिक्षाका लागि यहाँ आएका नेपाली विद्यार्थीमा देखिएको मानसिक र आर्थिक समस्या जटिल बन्दै गएको छ । सिड्नी र मेलबर्नमा उच्च शिक्षाका लागि आएका ५ विद्यार्थी मानसिक रोगकै कारण पछिल्लो समय नेपाल फर्किएका छन् ।

अष्ट्रेलियाली सरकारको पछिल्लो तथ्यांक अनुसार करिब ३० हजार नेपाली विद्यार्थी यहाँ छन् ।

अहिले केही विद्यार्थी विभिन्न अस्पतालमा उपचाररत रहेको चिकित्सकहरुले जनाएका छन्।

मेलबर्नमा रहेका मानसिक रोग विशेषज्ञ डा. अनुपम पोखरेलले ३० जना मानसिक रोगका विद्यार्थीहरु उपचाररत रहेको बताए। केही दिनअघि नेपाली दूतावासमा आयोजित वार्षिक पत्रकार अन्तर्क्रियामा समेत विद्यार्थीका समस्या जटिल बन्दै गएको निर्क्योल निकालिएको थियो। यहाँको वस्तुस्थिति नबुझी विद्यार्थीहरु नेपालबाट आउनाले समस्यामा पर्ने गरेका हुन्। राजदूत लक्की शेर्पाले विद्यार्थीहरुलाई कुनै कन्सल्टेन्सीहरुले गलत सल्लाह दिएको उजुरी आए सरोकारवालासँग सहकार्य गरी कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन्। उनले नेपालको शिक्षा मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ दिनुअघि नै विद्यार्थीहरुले अस्ट्रेलियाबारे महत्वपूर्ण जानकारी लिएको हुनुपर्नेमा जोड दिइरहेको बताइन्।

एनआरएनले सामाजिक कल्याणकारी कोषमार्फत पीडित विद्यार्थीहरुलाई नेपाल पठाउन र उपचारमा सहयोग पनि गर्दै आएको छ। विद्यार्थीमा मुख्य गरेर मानसिक रोग र घरेलु हिंसालगायतका समस्यामा देखिएको भन्दै एनआरएनए अस्ट्रेलियाले ‘इमरजेन्सी रेस्पोन्स टिम’ नै बनाएको छ। उक्त समितिमा विभिन्न विज्ञहरु छन्। टिमकी सचिव प्रतिज्ञा अधिकारी अस्ट्रेलियाको महँगो जीवनशैली, कलेजको महँगो शुल्क, कामको समस्या, गलत साथीहरु संगतलगायतले विद्यार्थी समस्या थप्दै गएको बताउँछिन्। अर्कोतिर कुलतका कारण यस्ता समस्या बढिरहेको सम्बन्धित क्षेत्रका व्यक्तिहरु दाबी गर्छन्।

नारी निकुञ्ज अस्ट्रेलियाकी अध्यक्षसमेत रहेकी अधिकारीले नेपालबाट आउनुअघि नै अस्ट्रेलियामा भोग्नुपर्ने समस्या र अवसरहरुका बारेमा विद्यार्थी र अभिभावकहरुलाई चेतना दिन आवश्यक भएको सुनाउँछिन्।

भिक्टोरियाका एनआरएन संयोजक केशव कँडेलका अनुसार मेलबर्नलगायतका क्षेत्रमा मानसिक रोगी विद्यार्थी बढिरहेका छन्। उपचार र नेपाल पठाउन सहयोग माग्दै विद्यार्थीहरु एनआरएनएको सम्पर्कमा आउने गरेका उनले सुनाए। उनी पनि विद्यार्थीहरु यहाँ आउनुअघि अध्ययन गर्न अत्यन्तै जरुरी भएको र यसका लागि सरकारले नै पहल गर्न आवश्यक भइसकेको बताउँछन्।

अस्ट्रेलियामा मानसिक रोग पीडितहरुका लागि निस्शुल्क र गोप्य सेवाहरु सञ्चालित छन्। तर, यी सेवाहरुका बारेमा कम जानकारी र हिनताबोधका कारण सम्पर्कमा नजाने गरेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन्। उनीहरुले मानसिक रोगपीडित विद्यार्थीहरुलाई समयमै चिकित्सककहाँ जान समेत सुझाव दिएका छन्।

प्रतिक्रिया