२०८३, १७ कार्तिक सोमबार
×

यूकेमा लक्ष्मी पूजा र भाइटीकाको साइत सार्वजनिक, नेपाली पण्डित संघले तोक्यो शुभ समय

0 Shares

लन्डन। नेपाली पण्डित संघ यूके (NPA UK) ले नेपाली समुदायका लागि तिहार २०२६ अन्तर्गत लक्ष्मी पूजा तथा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।

संघले सार्वजनिक गरेको सूचना अनुसार यूकेमा यस वर्ष ८ नोभेम्बर २०२६, आइतबार साँझ ५:३० बजे लक्ष्मी पूजा गर्न उपयुक्त समय निर्धारण गरिएको छ। त्यसैगरी, ११ नोभेम्बर २०२६, बुधबार बिहान १०:४५ बजे भाइटीकाको शुभ साइत रहेको संघले जनाएको छ।

भाइटीका लगाउने व्यक्तिले पूर्व दिशातर्फ फर्किएर टीका लगाउनुपर्ने जानकारीसमेत संघले दिएको छ।

नेपालीहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व तिहारमा लक्ष्मी पूजा र भाइटीकाको विशेष महत्व रहँदै आएको छ। लक्ष्मी पूजाका दिन धन, समृद्धि र सुखशान्तिको कामना गर्दै घरघरमा दीप प्रज्वलन तथा पूजा गरिन्छ भने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ।

नेपालबाट टाढा रहेर पनि आफ्नो धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक सम्बन्धलाई निरन्तरता दिँदै आएका बेलायतवासी नेपालीहरूका लागि संघले सार्वजनिक गरेको शुभ साइतले तिहार मनाउन सहज हुने अपेक्षा गरिएको छ।

नेपाली पण्डित संघ यूकेले सार्वजनिक गरेको शुभ साइतअनुसार बेलायतमा रहेका नेपाली समुदायले यस वर्षको तिहारका धार्मिक अनुष्ठान तथा भाइटीका सम्पन्न गर्न सक्नेछन्।

प्रतिक्रिया