लन्डन । नेपाल स्कटल्याण्ड एशोसिएसन र हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चरको पहलमा नेपालका बाढीपीडितका लागि ३ हजार ५०० पाउण्ड (७ लाख रुपैयाँभन्दा बढी) संकलन भएको छ।
दुवै संस्थाले संकलित रकम आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई हस्तान्तरण गरेका छन्। हिमालयन सेन्टरका अध्यक्ष मनिष खत्री र नेपाल स्कटल्याण्ड एशोसिएसनकी अध्यक्ष एवं एनआरएनए यूके उपाध्यक्ष कमला श्रेष्ठले एनआरएनए यूकेका उपाध्यक्ष उज्ज्वल कार्कीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
दुवै संस्थाले अभियानमा सहयोग गर्ने दाताहरूप्रति आभार व्यक्त गर्दै सानो भए पनि बाढीपीडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।
सहयोग रकम ग्रहण गर्दै कार्कीले दुवै संस्थालाई धन्यवाद दिँदै संकलित रकम छिट्टै प्रधानमन्त्री राहत कोषमा पठाइने जानकारी दिए।
कार्यक्रममा एनआरएनए अभियन्ताहरू मोति खरेल र शशी कार्कीले सहयोग संकलन अभियानबारे जानकारी गराउँदै दाताहरूप्रति आभार व्यक्त गरे। उनीहरूका अनुसार एडिनबरास्थित एभरेष्ट रेस्टुरेन्टमा च्यारिटी डिनर आयोजना गरेर संकलन गरिएको रकमसमेत बाढीपीडितको सहयोगका लागि नेपाल पठाइएको छ।