२०८३, १५ आश्विन बिहीबार
×

ट्रेन्डिङ

लन्डन पशुपतिनाथ मन्दिरद्वारा बाढीपीडितका लागि ५० लाखभन्दा बढी सहयोग

0 Shares
Spread the love

लन्डन — लन्डनस्थित पशुपतिनाथ मन्दिरले नेपालका बाढीपीडितका लागि ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। मन्दिरले संकलन गरेको २४ हजार ७ सय ७५ पाउण्ड अर्थात् करिब ५० लाख ३६ हजार रुपैयाँ राहत रकम नेपाली दूतावासमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

बिहीबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डे, ट्रस्टी संयोजक नरेन्द्र कँडेललगायत पदाधिकारीले सहयोग रकमको चेक कार्यवाहक राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरे।

मन्दिरका कोषाध्यक्ष रामकृष्ण अर्यालका अनुसार राहत रकम दूतावासको खातामा यसअघि नै जम्मा गराइसकिएको छ।

सहयोग रकम ग्रहण गर्दै कार्यवाहक राजदूत दुवाडीले विपद्को समयमा लन्डन पशुपतिनाथ मन्दिरले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले प्राप्त रकमलाई यथाशीघ्र लक्षित तथा वास्तविक पीडित समुदायसम्म पुर्‍याउने प्रयास गरिने बताए।

प्रारम्भिक राहत व्यवस्थापनको चरण अघि बढिसकेको उल्लेख गर्दै दुवाडीले अब बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि थप सहयोग आवश्यक रहेको बताए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले बाढीपीडितका लागि संकलित रकम वास्तविक पीडितसम्म प्रभावकारी रूपमा पुगोस् भन्ने उद्देश्यले दूतावासमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको बताए।

उनका अनुसार जनैपूर्णिमा, कृष्णाष्टमी, तीजलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रम र भक्तजनबाट प्राप्त भेटी तथा सहयोग संकलन गरी राहत कोष निर्माण गरिएको थियो। अभियान सफल बनाउन सहयोग गर्ने भक्तजन, दाता, ट्रस्टी, आजीवन सदस्य, कार्यसमिति तथा मन्दिर परिवारप्रति उनले धन्यवाद व्यक्त गरे।

ट्रस्टी संयोजक नरेन्द्र कँडेलले देश विपद्मा परेका बेला सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै सोही भावनाबाट मन्दिरले राहत अभियान सञ्चालन गरेको जानकारी दिए। उनले युरोपकै पहिलो नेपाली मन्दिरका रूपमा लन्डन पशुपतिनाथले विगतमा गर्दै आएका सामाजिक तथा सामुदायिक कार्यबारे समेत जानकारी गराए।

कार्यक्रममा पण्डित निलहरि घिमिरेले मन्दिरका धार्मिक गतिविधि तथा नेपाली दूतावाससँगको सहकार्यबारे धारणा राखे। उपाध्यक्ष एवं तीज कार्यक्रम संयोजक तारा भट्टराईले राहत संकलनका लागि मन्दिरले सञ्चालन गरेको अभियानबारे जानकारी दिइन्। राहत अभियानको आर्थिक संकलन संयोजन सचिव भोजराज कँडेलले गरेका थिए।

चेक हस्तान्तरण कार्यक्रममा मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा, पूर्वअध्यक्षहरू दासुराम पाण्डे र गोपाल अर्याल, ट्रस्टीहरू कर्ण शाही, विनोद ज्ञवाली र सुरज केसी, संरक्षक कल्पना त्रिपाठी, कोषाध्यक्ष रामकृष्ण अर्याल, सहसचिव गुनाखर गौतम तथा कार्यसमिति सदस्यहरू मञ्जु गौतम, सिआरके खरेल, दिलिप अधिकारी र उदय लम्साललगायतको उपस्थिति थियो।

बेलायतको नेपाली समुदायबाट संकलित यो सहयोगले विपद्का बेला विदेशमा रहेका नेपाली समुदायको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको ऐक्यबद्धतालाई समेत उजागर गरेको छ।

प्रतिक्रिया