२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कुश बस्नेत सभापतिको दौडमा, जनसम्पर्क समिति यूकेको नेतृत्वका लागि नयाँ समीकरण

0 Shares
Spread the love

लन्डन — नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतको आगामी अधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यही क्रममा समितिका वर्तमान महामन्त्री कुश बस्नेतले सभापति पदमा उम्मेदवारी दिने भएका छन्।


लामो समयदेखि नेपाली जनसम्पर्क समिति बेलायतको सांगठनिक गतिविधिमा सक्रिय बस्नेतले अब सभापतिको जिम्मेवारीका लागि आफूलाई अघि सारेका हुन्। सन् २०२१ मा सम्पन्न पाँचौँ अधिवेशनबाट उनी महामन्त्रीको जिम्मेवारीमा चयन भएका थिए।


सभापति पदमा उम्मेदवारी दिने तयारीसँगै बस्नेतले संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। संगठनभित्रको एकता कायम गर्दै बेलायतस्थित नेपाली समुदायसँगको सम्बन्ध विस्तार तथा नयाँ पुस्तालाई संगठनसँग जोड्ने विषयलाई समेत उनले प्राथमिकतामा राख्ने बताएका छन्।


महामन्त्रीका रूपमा संगठनको केन्द्रीय कार्यसमितिमा काम गरेको अनुभवलाई सभापतिको भूमिकामा उपयोग गर्ने बस्नेतको तयारी छ। उनको उम्मेदवारीसँगै आगामी अधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा थप फराकिलो बनेको छ।
नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक विवरणअनुसार पाँचौँ अधिवेशनबाट युवराज गुरुङ सभापति तथा कुश बस्नेतसहित इन्द्रहाङ लिङ्देन, नोर्बु शेर्पा र रेशम बस्याल महामन्त्रीमा चयन भएका थिए।
यसपटकको अधिवेशनका लागि कांग्रेस केन्द्रबाट शेरबहादुर सुनारलाई संयोजकको जिम्मेवारी दिइएको छ।

अधिवेशन सम्पन्न गर्न तयारी समिति गठन गरी आवश्यक तयारी अघि बढाइएको छ, जसमा कुश बस्नेत पनि सदस्यका रूपमा मनोनित भएका छन्।
नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर २०२६, आइतबार अल्डरसटस्थित ३५ स्टेशन रोडमा बिहान ११ः३० बजेदेखि हुने तय गरिएको छ।


अधिवेशनको मिति नजिकिँदै गर्दा सभापति पदका लागि आकांक्षीहरू खुल्न थालेका छन्। कुश बस्नेतको उम्मेदवारीले वर्तमान कार्यसमितिभित्रको अनुभव बोकेका नेताहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धाको नयाँ अध्याय सुरु भएको छ।
अबको अधिवेशनले नयाँ सभापति चयनसँगै नेपाली जनसम्पर्क समिति बेलायतको आगामी सांगठनिक प्राथमिकता, कार्यशैली र समुदायसँगको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने दिशासमेत तय गर्नेछ।

प्रतिक्रिया