लन्डन — लामो समयदेखि विभाजित नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन साताभित्र सम्पन्न गर्ने जिम्मेवारी समाजसेवी एवं समितिका नेता शेरबहादुर सुनारले पाएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले सुनारलाई संयोजक तोक्दै सेप्टेम्बर २७ भित्र अधिवेशन सम्पन्न गर्न विशेष कार्यादेश दिएका हुन्।
सभापति थापाले पठाएको पत्रमा वर्तमान तथा पूर्व पदाधिकारी र सदस्यहरूसँग संवाद र सबै पक्षसँग समन्वय गरी विधानअनुसार सदस्यता वितरण तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।
जिम्मेवारी पाएपछि सुनारले सबै पक्षलाई समेटेर तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। उनले संगठनको हितमा एकताबद्ध भएर अघि बढ्न बेलायतस्थित नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।
विभाजनका कारण लामो समयदेखि प्रभावित जनसम्पर्क समितिको आगामी अधिवेशनलाई संगठनात्मक एकताको अवसरका रूपमा हेरिएको छ।
