काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले कांग्रेस नेतृत्वमाथि निगरानी र राजनीतिक आक्रमण भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले राज्य संयन्त्रले कांग्रेस नेतृत्वलाई निगरानीमा राख्नुको सट्टा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि छानबिन गर्नुपर्ने बताएका छन्।
बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा सहभागी हुन पुगेका शिवाकोटीले कांग्रेस सभापतिमाथि निगरानी भइरहेको चर्चाबारे प्रतिक्रिया दिँदै कानुनी शासन कायम रहेको भए कांग्रेस नेतृत्वविरुद्ध षड्यन्त्र र प्रोपोगान्डा फैलाउनेहरूमाथि अनुसन्धान हुनुपर्ने जिकिर गरे।
‘वास्तवमै कानुनले काम गरिरहेको भए यतिखेर निगरानी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई गर्नुपर्थ्यो,’ शिवाकोटीले भने, ‘बाहिर षड्यन्त्रपूर्वक प्लट तयार पारेर अडियो संवाद रेकर्ड गराउने र कांग्रेस नेतृत्वविरुद्ध प्रोपोगान्डा फैलाउनेहरूलाई पो कानुनी दायरामा ल्याउनुपर्छ।’
उनले कांग्रेस नेतृत्वविरुद्ध नियोजित रूपमा राजनीतिक वातावरण बिगार्ने गतिविधि भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।
शिवाकोटीले सूचना चुहाएको आरोपमा सुरक्षा निकायका नेतृत्व, आईजीपीसम्म फेरिने अवस्था सिर्जना हुनु तर कथित मुख्य योजनाकारहरू सत्ताको आडमा सुरक्षित रहनु विडम्बनापूर्ण भएको टिप्पणी गरे।
उनका अनुसार सरकारको पछिल्लो गतिविधि कांग्रेस नेतृत्वलाई कमजोर बनाउने उद्देश्यबाट प्रेरित देखिएको छ। कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टीको पक्षमा जनमत बलियो बन्दै गएको देखेर सरकार आत्तिएको र त्यसैको परिणामस्वरूप नेतृत्वमाथि आक्रमण सुरु भएको उनको दाबी छ।
सरकारले शान्त राजनीतिक वातावरणमा अनावश्यक हस्तक्षेप गरेर परिस्थितिलाई उत्तेजित बनाएको आरोप लगाउँदै शिवाकोटीले कांग्रेस कार्यकर्ताले यसको राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिए।
यसैबीच, सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोले आफ्नो खोजी गरेपछि विदेश भ्रमण छोट्याएर काठमाडौं फर्किएको शिवाकोटीले जानकारी दिएका छन्।
आफूविरुद्ध उजुरी गराएर राज्य संयन्त्रको दुरुपयोग गरिएको उनको आरोप छ। उनले यस्ता गतिविधिबाट नेपाली कांग्रेस नडराउने स्पष्ट पार्दै कानुनी तथा राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन्।
शिवाकोटीले सरकारलाई राजनीतिक प्रतिशोधको बाटो छाडेर विधि, विधान र कानुनी शासनको सम्मान गर्न आग्रह गरेका छन्।
उनको अभिव्यक्तिले पछिल्लो समय नेपाली कांग्रेस र सरकारबीच बढ्दै गएको राजनीतिक तनावलाई थप उजागर गरेको छ।