२०८३, २० कार्तिक बिहीबार
×

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे दानबहादुर कार्की

पुनर्बहालीको कानुनी लडाइँ सुरु गर्दै निवर्तमान आईजीपी कार्की; अधिवक्ता टीकाबहादुर कुँवर रिट लिएर सर्वोच्च पुगे, दर्तालगायतका प्रक्रिया अघि बढ्दै।
0 Shares

काठमाडौं।नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्।

‘हामी रिट लिएर पुगेका छौँ, अरू प्रक्रिया चलिरहेको छ,’ अधिवक्ता कुँवरले बताए।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो। साथै, एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरिएको थियो।

सरकारले कार्कीलाई हटाउने निर्णयलाई कारबाही नभई जिम्मेवारी हेरफेर भएको बताउँदै आएको छ। तर, उक्त निर्णयको कानुनी वैधतामाथि प्रश्न उठाउँदै कार्कीले न्यायिक उपचारको बाटो रोजेका हुन्।

यससँगै प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी सरकारको निर्णय अब सर्वोच्च अदालतको न्यायिक परीक्षणको विषय बनेको छ। रिट दर्ता भएपछि अदालतले दिने आदेशले सरकारको अधिकार, प्रहरी महानिरीक्षकको कार्यकाल र पदमुक्त गर्ने प्रक्रियाबारे महत्त्वपूर्ण कानुनी प्रश्नको निरूपण गर्नेछ।

प्रतिक्रिया