काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका साहित्यकार तथा सञ्चारकर्मी नृपेश उप्रेतीको गजलसंग्रह ‘आगो रहरको’ काठमाडौंमा विमोचन गरिएको छ।
बुधबार (१४ अक्टोबर) काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरि बराल, करुण थापा र लेखककी आमा नन्दकुमारी उप्रेतीलगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन्।
बेलायतको पिटरबरोमा बस्दै आएका उप्रेती प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्य सिर्जनामा सक्रिय छन्। विमोचन कार्यक्रममा सहभागी साहित्यकारहरूले नेपाली साहित्य, विशेषगरी गजल विधाप्रति उनको निरन्तर लगाव र योगदानको प्रशंसा गरे।

१५८ वटा गजल समेटिएको ‘आगो रहरको’ बारेमा बोल्दै वक्ताहरूले कृतिमा गजलका सिद्धान्त र संरचनालाई ध्यान दिइएको उल्लेख गरे। उनीहरूले विषयवस्तु, भाव र शिल्पका दृष्टिले संग्रह महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा साहित्यकारहरूले प्रवासमा रहेर नेपाली साहित्य सिर्जनालाई निरन्तरता दिनु प्रशंसनीय रहेको बताउँदै उप्रेतीलाई बधाई तथा आगामी साहित्यिक यात्राका लागि शुभकामना दिएका थिए।