काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन्। उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा नीति निर्माण गर्नुपर्ने बताए। उनले पार्टीका विषयगत विभागहरूलाई समेत अनुसन्धानमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्न आग्रह गरिएको जानकारी दिए।
उनले भने, ‘ समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक छ। देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्छ। पार्टीका विषयगत विभागहरूले पनि अनुसन्धान र तथ्यमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्नुपर्छ।’
ओलीले नीति निर्माण गर्दा वर्तमान समस्याको समाधान मात्र नभई भविष्यलाई समेत ध्यान दिनुपर्ने बताए। कृषि, पूर्वाधार विकास, अर्थतन्त्र र परराष्ट्र नीतिलगायतका क्षेत्रमा दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले राज्यको मुख्य उद्देश्य जनताको जीवनस्तर उकास्नु, गरिबी न्यूनीकरण गर्नु र नागरिकलाई आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु रहेको बताए। जातीय आधारमा आरक्षणको विषयमा चर्चा गर्दै उनले जनताको आम्दानी बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक अवस्था सुधार्ने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
‘रोजगारी भनेको काम गरेको समय गनेर मात्र हुँदैन, त्यसबाट प्राप्त हुने आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्नुपर्छ,’ ओलीले भने।
ओलीले मानवतावाद, समानता, न्याय, सुरक्षा, समृद्धि र सम्मानजनक जीवनलाई आफूहरूले परिकल्पना गरेको समाजवादको आधारका रूपमा व्याख्या गरे। उनले राजनीतिक अधिकारमा मात्र सीमित नभई नागरिकका आर्थिक तथा सामाजिक अधिकारसमेत सुनिश्चित हुने लोकतन्त्र आवश्यक रहेको बताए।
अध्यक्ष ओलीले नीति निर्माणका लागि समाजका विभिन्न तहका नागरिक, बुद्धिजीवी तथा विषयविज्ञसँग छलफल र परामर्श गर्नुपर्ने बताए। अनुसन्धानबिनाको नीति मनोगत हुने र त्यसले अपेक्षित परिणाम दिन नसक्ने उनको भनाइ थियो।
उनले विगतका अनुभव, वर्तमान परिस्थितिको विश्लेषण र भविष्यका आवश्यकतालाई समेटेर नीति निर्माण गर्नु प्रतिष्ठानको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्न विभिन्न क्षेत्रको अध्ययन गरी कुन क्षेत्रमा के गर्नुपर्छ भन्ने पहिचान गर्नुपर्ने उनले बताए।