२०८३, २१ आश्विन बुधबार
×

डा. मिनेन्द्र रिजालले फिर्ता लिए उपसभापतिको उम्मेदवारी, गगन थापा नेतृत्वको प्यानललाई सघाउने

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दिएका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।

मंगलबार मनोनयन दर्ता गरेपछि पार्टी सभापति गगनकुमार थापासँग भएको विशेष भेटवार्ता र गहन संवादपछि रिजाल उम्मेदवारी फिर्ता लिँदै थापा नेतृत्वलाई सहयोग गर्न तयार भएका हुन्।

भेटका क्रममा सभापति थापाले रिजालको लामो राजनीतिक अनुभव, ज्ञान तथा बौद्धिक क्षमतालाई कांग्रेसको आगामी दिशा तय गर्न र नयाँ पुस्तासँग जोड्ने महत्वपूर्ण भूमिकामा उपयोग गर्न चाहेको बताएका थिए।

थापाले रिजाललाई पदाधिकारीको प्रतिस्पर्धामा नलागी पार्टीभित्रै रहेर सहकार्य गर्न आग्रह गर्दै कांग्रेसलाई अघि बढाउन उनको अनुभव र ज्ञान आवश्यक रहेको बताएका थिए। पार्टीमा योगदान गर्न पदाधिकारी पद नै अनिवार्य हुन नहुने वातावरण निर्माण गर्ने प्रतिबद्धतासमेत थापाले व्यक्त गरेको बताइएको छ।

थापाको प्रस्तावप्रति सकारात्मक बनेका रिजालले आफू व्यक्तिगत पदका लागि नभई कांग्रेसलाई पुनः बलियो बनाउने उद्देश्यले उम्मेदवारी दिएको स्पष्ट पारेका छन्। थापाको नेतृत्वबाटै पार्टी रूपान्तरण सम्भव हुने निष्कर्षसहित उनले कुनै पदको मोलमोलाइ नगरी नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

रिजालले केन्द्रीय समितिमा पद खोजिरहने आफ्नो यात्रा समाप्त भएको घोषणा गर्दै निर्वाचन कार्यतालिकाअनुसार औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने बताएका छन्।

उनले आफ्नो अबको मुख्य ध्येय ‘कांग्रेसको आत्मा फर्काउने’ रहेको उल्लेख गर्दै गगन थापाको नेतृत्वलाई पार्टीभित्रबाटै सशक्त रूपमा सहयोग गर्ने स्पष्ट पारेका छन्।

यसअघि मंगलबार खुला उपसभापतिका दुई पदका लागि डा. रिजालसहित नौ जना नेताले उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारमाथि दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया अघि बढिरहेका बेला रिजालको उम्मेदवारी फिर्ता लिने निर्णयले कांग्रेसको चुनावी समीकरणमा नयाँ परिवर्तन ल्याएको छ।

प्रतिक्रिया