२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पार्टीलाई एकढिक्का बनाएर आगामी चुनावमा अव्वल नतिजा निकाल्न ओलीको आह्वान

0 Shares
Spread the love

काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कोशी, मधेस, बागमती, उपत्यका विशेष (राजधानी) प्रदेश र सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।

मंगलबार दिउँसो ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा जोडिएका चार प्रदेश र सचिवालयका नेताहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भर्खरै सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले पारित गरेका निर्णय तथा राजनीतिक प्रतिवेदन अक्षरांश कार्यान्वयन गर्न  निर्देशन दिएका छन्।

भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “हाम्रो भर्खरै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेले गर्ने तत्कालीन प्रमुख कार्यभारहरू तोकेको छ। त्यो कार्यभार पूरा गर्न तोकिएका १५ वटा प्रमुख कामहरू सम्पन्न गर्नुपर्छ, त्यसका लागि तपाईंहरू सबै पूर्ण रूपमा तयार रहनुहोला।”

अध्यक्ष ओलीले सोही निर्णयानुसार पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकढिक्का बनाउँदै आगामी स्थानीय तहको निर्वाचनमा अव्वल नतिजा हासिल गर्ने गरी सम्पूर्ण पार्टी पंक्तिलाई अविलम्ब परिचालन गर्न प्रदेश नेताहरूलाई निर्देशन दिए।

देशको वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै अध्यक्ष ओलीले संविधान र लोकतन्त्र अहिले घाइते अवस्थामा पुगेको दाबी गरे। संविधानको रक्षा, लोकतन्त्रको पुनर्बहाली र जनअधिकारको संरक्षणका सवालमा एमाले जस्तोसुकै कठिन संघर्ष गर्न पनि पछाडि नहट्ने र पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पहिलो चरणमा चार वटा प्रदेशका नेताहरूलाई सम्बोधन गरेका अध्यक्ष ओलीले दोस्रो चरणमा बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई भर्चुअल माध्यमबाटै सम्बोधन गर्ने तयारी छ।

केन्द्रीय कमिटी बैठकका निर्णयहरूलाई तल्लो कमिटी र कार्यकर्ता तहसम्म द्रुत गतिमा लैजान र आसन्न निर्वाचन लक्षित अभियान सुरु गर्न एमालेले यस्तो देशव्यापी भर्चुअल अभियान थालेको हो।

प्रतिक्रिया