२०८३, १४ श्रावण बिहीबार
×

ट्रेन्डिङ

सुनसरी घटनामा सरकार गम्भीर देखिएन : भीष्मराज आङ्देम्बे

0 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सुनसरी घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार पर्याप्त गम्भीर नदेखिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आङ्देम्बेले संवेदनशील परिस्थितिमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाए।

“सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ किन उपस्थित हुनुभएन भन्ने प्रश्न उठाएका छौं। सरकार किन स्टाटसमै सीमित देखिएको छ ? सरकार किन ग्राउन्ड जिरोमा उपस्थित हुन सकेको छैन ?” उनले भने।

आङ्देम्बेले सुनसरी घटनापछि सामाजिक सद्भाव प्रभावित भएको उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्नु राज्यको प्राथमिक दायित्व भए पनि राजनीतिक दलहरूले पनि समाजमा विश्वास र सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्नुपर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए।

उनका अनुसार बैठकमा सहभागी अधिकांश नेताले घटनाको संवेदनशीलतालाई दृष्टिगत गर्दै सरकारले तत्काल प्रभावकारी समन्वय, संवाद र आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका थिए।

उनले सरकारले घटनालाई सामान्य रूपमा नलिई गम्भीरतापूर्वक छानबिन, शान्ति–सुरक्षाको प्रत्याभूति तथा सामाजिक सद्भाव कायम राख्न आवश्यक सबै उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया