२०८३, २२ कार्तिक शनिबार
×

लन्डनस्थित नेपाली दूतावासमा भगवान् बुद्धको मूर्ति स्थापना तथा अनावरण

0 Shares

लन्डन । बेलायतस्थित नेपाली राजदूतावासमा भगवान् गौतम बुद्धको मूर्ति स्थापना तथा अनावरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एनआरएनए आईसीसी, एनआरएनए यूके र बुद्ध फाउण्डेशन यूकेको संयुक्त पहलमा बुधबार, ४ नोभेम्बर २०२६ मा आयोजित कार्यक्रमले नेपालको सांस्कृतिक पहिचान र विश्व शान्तिको सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यलाई थप मजबुत बनाएको छ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेश) ले भगवान् गौतम बुद्धको मूर्ति औपचारिक रूपमा अनावरण गरेका थिए। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा सांसद मनिष झासहितका विशिष्ट व्यक्तित्वहरूले दीप प्रज्वलन गरेका थिए।

यस अभियानमा एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ (सोम) सापकोटाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले अभियानको अन्तर्राष्ट्रिय समन्वय तथा भगवान् गौतम बुद्धको प्रतिमा स्थापना परियोजनालाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन निरन्तर अग्रसरता र महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ। यस परियोजनालाई सफल बनाउन उहाँको सक्रियता, समन्वय र प्रतिबद्धता विशेष प्रशंसनीय रहेको छ।

बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले मूर्ति स्थापना तथा अनावरण अभियान सफल भएकोमा खुशी व्यक्त गर्दै यसलाई नेपालको गौरव, पहिचान र विश्व शान्तिको सन्देश प्रवाह गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

श्रेष्ठले अभियान सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम सापकोटा, बेलायतका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडी तथा एनआरएनए आईसीसी, एनआरएनए यूके, नेपाल पर्यटन बोर्डलगायतका संस्थाप्रति आभार व्यक्त गरेका छन्।

कार्यक्रममा डायमण्ड बुद्धिष्ट सेन्टरका लामा गुरु खेन्पो रणबहादुर गुरुङ, पशुपतिनाथ मन्दिर लण्डनका संस्थापक पुजारी निलहरी गुरु, बुद्ध फाउण्डेशन यूकेका पदाधिकारी, सदस्य, सल्लाहकार, पत्रकार तथा सहयोगीहरूको योगदानको प्रशंसा गरिएको थियो। मूर्तिका लागि बुद्धको आसन निर्माणमा योगदान पुर्‍याउने अर्जुन शाहीलाई पनि विशेष धन्यवाद व्यक्त गरिएको थियो।

बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष श्रेष्ठले भगवान् बुद्धको शान्ति, करुणा, अहिंसा र मानवताको सन्देश विश्वभर फैलाउन सबै पक्षबीच सहकार्य, एकता र सद्भाव निरन्तर कायम रहने विश्वास व्यक्त गरेका छन्।

लन्डनस्थित नेपाली राजदूतावासमा बुद्धको मूर्ति स्थापना हुनु नेपालको सांस्कृतिक पहिचान, आध्यात्मिक विरासत र विश्व शान्तिको सन्देशलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

प्रतिक्रिया