लन्डन। बेलायतमा क्रियाशील गुल्मी जिल्ला समाज यूकेले अपाङ्गता भएका व्यक्तिहरूको सहयोग तथा उनीहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ।
लेस्टरशायरको मार्केट हार्बरोमा आगामी ६ डिसेम्बर २०२६, आइतबार आयोजना हुने कार्यक्रममा सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र मौलिक परम्परालाई समेत प्राथमिकता दिइने समाजले जनाएको छ।
अपाङ्गता भएका व्यक्तिहरूले समाजमा समान अवसर र सम्मान प्राप्त गर्नुपर्ने सन्देश प्रवाह गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। यस किसिमका सामाजिक गतिविधिले सहयोग, सद्भाव र मानवीय संवेदनाको भावना अभिवृद्धि गर्नुका साथै समुदायलाई सामाजिक उत्तरदायित्वप्रति जागरुक बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रथम गुल्मी नौमती बाजा समूहले विशेष सांगीतिक प्रस्तुति दिनेछ। नेपाली मौलिक संस्कृतिको महत्वपूर्ण पहिचानका रूपमा रहेको नौमती बाजाको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास आयोजकले लिएको छ।
कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश शुल्क वयस्कका लागि ३० पाउन्ड र ६ देखि १४ वर्षसम्मका बालबालिकाका लागि १५ पाउन्ड तोकिएको छ। पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। सहभागीका लागि खानाको व्यवस्था पनि प्रवेश शुल्कमै समावेश गरिएको छ।

कार्यक्रमको समन्वय समाजका प्रवक्ता सुरेश केसीले गरिरहेका छन्। समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रम सफल बनाउन बेलायतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा सामाजिक सेवामा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेकी छन्।
सामाजिक सेवाको उद्देश्यलाई सामुदायिक एकता र नेपाली सांस्कृतिक पहिचानसँग जोड्ने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान, सहयोग र समावेशिताको भावना प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।