लन्डन । नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्दै गर्दा अस्पताल खोल्ने सपना देखेका राजन खकुराल अहिले बेलायतमा कानको स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिरहेका छन्। उच्च शिक्षाका लागि बेलायत आएको करिब १७ वर्षपछि उनले आफ्नो करिअरको बाटो परिवर्तन गर्दै अडियोलोजी अर्थात् श्रवण स्वास्थ्यको क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्।
नेपालमा काठमाडौं विश्वविद्यालयमा जनरल मेडिसिन अध्ययन गरेका खकुरालको रुचि सुरुदेखि नै स्वास्थ्य क्षेत्रमा थियो। बेलायत आएपछि उनले फार्मेसी अध्ययन गरे र केही समय फार्मेसी व्यवसायमा समेत संलग्न भए। तर, नयाँ क्षेत्रमा काम गर्ने चाहनाले उनलाई अडियोलोजीतर्फ डोर्यायो।
सन् २०१९ तिर अडियोलोजी अध्ययन सुरु गरेका उनले तीन वर्षको अध्ययन र छ महिनाको इन्टर्नसिप पूरा गरेपछि सन् २०२२ मा क्लिनिकल अडियोलोजिस्टका रूपमा योग्यता हासिल गरे। सोही वर्ष उनले मध्य लन्डनमा ‘ह्याम्पस्टेड इयर केयर’ नामक क्लिनिक सञ्चालनमा ल्याए। बेकर स्ट्रिटमा पनि उनको अर्को क्लिनिक छ।
‘पहिलेदेखि नै पढाइसँगै व्यवसाय गर्ने चाहना थियो। अडियोलोजीको अध्ययन पूरा भएपछि आफ्नै क्षेत्रमा केही गरौँ भन्ने सोचले सन् २०२२ देखि यो पेशामा आबद्ध भएँ,’ खकुरालले भने।
स्विस कटेज र फिन्चले रोड स्टेसननजिक रहेको क्लिनिकबाट उनले कान सफा गर्ने, श्रवण शक्ति परीक्षण गर्ने तथा कानको अवस्थाको मूल्यांकन गरी आवश्यकताअनुसार श्रवण उपकरण उपलब्ध गराउने सेवा दिँदै आएका छन्। थप उपचार, शल्यक्रिया वा विशेषज्ञको आवश्यकता देखिएमा बिरामीलाई अस्पताल वा सामान्य चिकित्सक (जीपी) कहाँ पठाउने व्यवस्था पनि उनले गर्दै आएका छन्।
श्रवण परीक्षणबाट व्यक्तिको सुनाइ क्षमता कुन अवस्थामा छ भन्ने मूल्यांकन गर्न सकिने खकुराल बताउँछन्। परीक्षणको नतिजा र आवश्यकताका आधारमा उपयुक्त श्रवण उपकरण छनोट गरिन्छ। उनका अनुसार यस्ता उपकरण विभिन्न मूल्यमा उपलब्ध छन् र आफ्नो क्लिनिकमा प्रतिस्पर्धी क्लिनिकको तुलनामा सस्तो सेवा दिने प्रयास गरिएको छ।

व्यवसायसँगै खकुरालको अर्को चासो बेलायतमा रहेका नेपाली समुदायमा कानको स्वास्थ्यसम्बन्धी सचेतना बढाउनु हो। नेपालीहरू दाँत र आँखाको जाँचलाई प्राथमिकता दिने गरे पनि कानको नियमित परीक्षणमा अपेक्षाकृत कम ध्यान दिने गरेको उनको अनुभव छ।
‘नेपालीहरू प्रायः दाँत र आँखालाई महत्त्व दिन्छन्, तर कानलाई त्यति प्राथमिकता दिँदैनन्। जबकि कानले आवाज सुन्ने मात्र होइन, शरीरको सन्तुलन कायम राख्न पनि मद्दत गर्छ,’ उनी भन्छन्।
उनले सम्भव भए वर्षमा एक पटक र नभए कम्तीमा दुई वर्षमा एक पटक कानको परीक्षण गराउन सुझाव दिएका छन्। नियमित परीक्षणबाट सम्भावित समस्या समयमै पहिचान गर्न र आवश्यक उपचार लिन सहज हुने उनको भनाइ छ।
खकुरालले ज्येष्ठ नागरिकलाई निःशुल्क श्रवण शक्ति परीक्षण गरिदिने गरेका छन्। नेपाली समुदायका कसैलाई आकस्मिक समस्या परेमा फोनमार्फत परामर्श दिने गरेको पनि उनले बताए।
स्वास्थ्य सेवा र व्यवसायबाहेक खकुराल नेपाली समुदायका सामाजिक गतिविधिमा पनि सक्रिय छन्। उनी अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष हुन् भने गैरआवासीय नेपाली संघमा पनि लामो समयदेखि आबद्ध छन्।
फार्मेसीबाट सुरु भएको उनको व्यावसायिक यात्रा अडियोलोजीसम्म आइपुगेको छ। अहिले उनी आफ्नो पेशामार्फत श्रवण स्वास्थ्य सेवा प्रदान गर्नुका साथै नेपाली समुदायमा कानको नियमित परीक्षण र हेरचाहको महत्त्वबारे जानकारी फैलाउन लागिपरेका छन्।