२०८३, २९ आश्विन बिहीबार
×

नेपालको विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २०.९ महिनाको आयात धान्न पर्याप्त

0 Shares

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो।

अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड डलर पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड डलर थियो।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा ४ प्रतिशतले बढेर ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति ३४ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ थियो। राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्रा सञ्चिति ७.२ प्रतिशतले बढेर ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तसम्म कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ।

२०.९ महिनाको वस्तु आयात धान्न पर्याप्त

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।

भदौ मसान्तमा विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६१.६ प्रतिशत, कुल आयातको १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायको ४४.९ प्रतिशत बराबर रहेको छ। असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए।

शोधनान्तर र चालु खाता दुवै बचतमा

समीक्षा अवधिमा नेपालको शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब १० करोडबाट बढेर १ अर्ब २३ करोड डलर पुगेको छ।

त्यस्तै, चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा चालु खाता बचत ९३ करोड ६७ लाखबाट बढेर १ अर्ब ११ करोड डलर पुगेको छ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब २० करोड रुपैयाँ थियो। प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ। समीक्षा अवधिमा इक्विटीका रूपमा २ अर्ब ९८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब २७ करोड रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा तेल र सुनको मूल्य बढ्यो

राष्ट्र बैंकको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेको छ। सन् २०२५ भदौ मसान्तमा प्रतिब्यारेल ६९.६९ अमेरिकी डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य सन् २०२६ भदौ मसान्तमा ८३.४ प्रतिशतले बढेर १२७.८४ डलर पुगेको छ।

त्यस्तै, सुनको मूल्य पनि बढेको छ। सन् २०२५ भदौ मसान्तमा प्रतिऔँस ३ हजार ६९५.४० डलर रहेको सुनको मूल्य सन् २०२६ भदौ मसान्तमा १५.४ प्रतिशतले बढेर ४ हजार २६३.५५ डलर पुगेको छ।

राष्ट्र बैंकको प्रतिवेदनमा असार मसान्तको तुलनामा भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अवमूल्यन भएको उल्लेख छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७ प्रतिशतले अवमूल्यन भएको थियो। प्रतिवेदनअनुसार भदौ मसान्तमा अमेरिकी डलरको खरिद विनिमय दर १५३ रुपैयाँ २४ पैसा रहेको थियो, जबकि असार मसान्तमा यस्तो दर १५३ रुपैयाँ ७२ पैसा थियो।

विदेशी मुद्रा सञ्चिति, शोधनान्तर र चालु खाता बचतमा सुधार देखिए पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले नेपालको आयात खर्चमा दबाब पार्न सक्नेछ।

प्रतिक्रिया