काठमाडौँ । गोर्खाको चुमचेटनजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको प्रारम्भिक आकलन गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले सरकारी अधिकारीहरूको विवरण समीक्षा गर्दै यस्तो जनाएको हो।
आइतबार बिहान करिब ४ बजे हिलो, लेदो र भग्नावशेषसहितको बाढी बग्न थालेपछि बूढीगण्डकी, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन चेतावनी दिइएको छ।
प्रारम्भिक विवरणअनुसार केही मानिस बेपत्ता भएका छन् भने घर, पुल र नदी किनारका पूर्वाधारमा क्षति पुगेको छ। सेल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना स्थलमा पनि क्षति पुगेको खबर छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ।
इसिमोडका अनुसार यो घटनाले हिमाली क्षेत्रमा पहिरो र बाढीजस्ता विपद् एकपछि अर्को निम्तिन सक्ने जोखिम देखाएको छ। सन् २०२४ अप्रिलमा पनि मनास्लु हिमनदीबाट खसेको हिउँपहिरोले बीरेन्द्र तालको पानी विस्थापित गर्दा बूढीगण्डकीमा ठूलो बाढी आएको थियो।
अक्टोबर ११ बिहान ११ः३० बजेसम्मका सार्वजनिक विवरणमा आधारित यो प्रारम्भिक विश्लेषण भएकाले उद्धार कार्यसँगै क्षतिको विवरण परिवर्तन हुन सक्ने इसिमोडले जनाएको छ।