२०८३, २३ आश्विन शुक्रबार
×

सशस्त्रका निलम्बित एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न छानबिन समितिको सिफारिस

0 Shares

काठमाडौं। सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाटै बर्खास्त गर्न छानबिन समितिले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको छ।

गृह मन्त्रालयले गत सोमबार (असोज १९) गठन गरेको तीन दिने छानबिन समितिले बिहीबार आफ्नो विस्तृत प्रतिवेदन गृहमन्त्री सुधन गुरुङलाई बुझाउँदै दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको हो। प्रतिवेदन प्राप्त भएसँगै गृह मन्त्रालयबाट उनलाई बर्खास्त गर्ने औपचारिक निर्णयको तयारी भइरहेको गृह स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बलको नियम तथा आचरण विपरीत सुरक्षा संवेदनशील गोप्य सूचना चुहावट गरेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले कारबाहीका लागि सिफारिश गरेपछि गृह मन्त्रालयले दाहाललाई सोमबार निलम्बन गरेको थियो। त्यसलगत्तै मन्त्रालयले घटनाको सत्यतथ्य जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकेको थियो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्ति अनुसार हरेक सशस्त्र प्रहरी कर्मचारीले सेवा र पद अनुसारको आचरण पालना गर्नुपर्ने र सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको गोपनीयता कायम राख्नुपर्ने कानुनी व्यवस्था छ।

प्रवक्ता काफ्लेले मन्त्रालयले पदीय आचरण विपरीतका कार्य, गोप्य सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी राखिरहेको र कानुन विपरीत कार्य गर्ने जोसुकैलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन्।

आगामी असोज २८ गते ४ वर्षे पदावधि सकिन लागेका एआईजी दाहालको पदावधि थप गर्ने चर्चा भइरहेका बेला संवेदनशील सूचना चुहावटको गम्भीर अभियोग लागेपछि उनी निलम्बन र बर्खास्तगीको कारबाहीमा परेका हुन्।

प्रतिक्रिया