२०८३, २३ आश्विन शुक्रबार
×

बेलायतमा नेपाली सेनाको ऐतिहासिक सफलता, लगातार तेस्रो वर्ष क्याम्ब्रियन पट्रोलमा स्वर्ण पदक

0 Shares

लन्डन । नेपाली सेनाले बेलायतको वेल्सस्थित ब्रेकनमा आयोजित प्रतिष्ठित क्याम्ब्रियन पट्रोल एक्सरसाइजमा लगातार तेस्रो वर्ष स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरेको छ।

३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी भएको यस वर्षको अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो। अत्यन्तै कठिन मानिने यो अभ्यासमा नेपाली सेनाले सन् २०२४ देखि लगातार तीन वर्ष स्वर्ण पदक जित्न सफल भएको छ।

बेलायती सेनाको गस्तीसम्बन्धी प्रमुख अभ्यासका रूपमा चिनिने क्याम्ब्रियन पट्रोल एक्सरसाइजको आयोजना मुख्यालय १६०औँ (वेल्स) ब्रिगेडले गरेको हो। सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि सहभागिता जनाउँदै आएको छ।

४८ घण्टामा ६० किलोमिटरको कठिन चुनौती

क्याम्ब्रियन पट्रोललाई शारीरिक तथा मानसिक सहनशीलताको कठिन परीक्षा मानिन्छ। अभ्यासमा सहभागी टोलीको लडाइँ तयारी, सूचना सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापनलगायतका व्यावहारिक सैनिक दक्षताको परीक्षण गरिन्छ।

आठ चरणमा विभाजित अभ्यासमा सहभागी टोलीले ४८ घण्टाभित्र हतियार र करिब ७० पाउन्ड अर्थात् ३२ किलोग्राम तौल बराबरका उपकरण तथा बन्दोबस्ती सामग्री बोकेर ६० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ।

कठिन भूगोल, समयको दबाब र निरन्तर शारीरिक तथा मानसिक चुनौतीबीच उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेनाले स्वर्ण पदक हासिल गरेको हो।

लेफ्टिनेन्ट कर्णेल पाठक र लेफ्टिनेन्ट पाण्डेको नेतृत्वमा टोली

यस वर्षको अभ्यासमा नेपाली सेनाको १० सदस्यीय टोली सहभागी भएको छ। टोलीको व्यवस्थापन लेफ्टिनेन्ट कर्णेल निश्चल पाठकले गरेका थिए भने पट्रोल कमान्डरको जिम्मेवारी लेफ्टिनेन्ट प्रवीण पाण्डेले सम्हालेका थिए।

पदक वितरण समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देल पनि उपस्थित थिए। प्रधानसेनापति सिग्देलले विजेता टोलीलाई प्रधानसेनापति पदक प्रदान गरेका थिए। साथै, गोर्खा १ आरजीआरका दुई कर्मचारीलाई पनि प्रधानसेनापति पदक प्रदान गरिएको थियो।

बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायतको औपचारिक भ्रमणमा रहेका छन्।

२०१७ र २०१९ मा पनि जितेको थियो स्वर्ण

नेपाली सेनाले क्याम्ब्रियन पट्रोल एक्सरसाइजमा यसअघि पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। सेनाले सन् २०१७ र २०१९ मा समेत स्वर्ण पदक जितेको थियो।

सन् २०२४ मा आयोजित अभ्यासमा १२१ टोली सहभागी भएका थिए, जसमा ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली थिए। त्यस वर्ष पनि नेपाली सेनाले स्वर्ण पदक हासिल गरेको थियो। गत वर्षको अभ्यासमा ३३ देशका ३५ अन्तर्राष्ट्रिय टोलीसहित कुल ११७ टोली सहभागी भएका थिए र नेपाली सेनाले पुनः स्वर्ण पदक जितेको थियो।

लगातार तीन वर्ष स्वर्ण पदक जित्न सफल नेपाली सेनाको उपलब्धिले कठिन सैनिक अभ्यासमा टोलीको निरन्तरता, तयारी र व्यावसायिक दक्षतालाई उजागर गरेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्राप्त यो सफलताले नेपाली सेनाको प्रतिष्ठालाई थप उचाइ दिएको छ।

प्रतिक्रिया