२०८३, २१ आश्विन बुधबार
×

कांग्रेस महाधिवेशनको बन्द सत्र आज सकिँदै, चार महत्वपूर्ण प्रतिवेदन पारित हुने

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिनको बन्द सत्र आज सम्पन्न हुँदैछ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टी नेतृत्वबाट प्रस्तुत विभिन्न राजनीतिक प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै तिनलाई पारित गर्ने कार्यसूची रहेको छ।

आजको बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ।

सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य सुरेशराज आचार्यका अनुसार गत सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले ती दस्तावेज तथा प्रतिवेदनमाथि निरन्तर धारणा राख्दै आएका थिए। छलफलमा सातै प्रदेशका प्रतिनिधिका साथै विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

आज बिहान १०ः३० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुने कार्यतालिका छ। छलफल तथा प्रतिवेदन पारित गर्ने प्रक्रिया सम्पन्न भएपछि बन्द सत्रको समापन गरिनेछ।

समापन चरणमा पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बन्द सत्रबाट राजनीतिक, संगठनात्मक तथा आर्थिक दस्तावेज पारित भएपछि कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनतर्फ थप केन्द्रित हुनेछ।

प्रतिक्रिया