काठमाडौं । महान् पर्व दशैं नजिकिएसँगै काठमाडौंका प्रमुख बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ्न थालेको छ। विशेषगरी भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा र नयाँसडक क्षेत्रमा दशैंका लागि आवश्यक सामान खरिद गर्ने सर्वसाधारणको चहलपहल बढेको हो।
दशैंका लागि नयाँ लत्ताकपडा, जुत्ता–चप्पल, बालबालिकाका सामग्री तथा घरायसी सामान खरिद गर्ने ग्राहकको संख्या बढेपछि भृकुटीमण्डपका खुला बजारका व्यापारीलाई भ्याइनभ्याइ भएको छ।
भृकुटीमण्डपका व्यापारी अशोक खतिवडाका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन निरन्तर बढिरहेको छ। विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि कपडा खरिद गर्ने ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको उनले बताए।
“दशैं नजिकिँदै गएपछि कपडा किन्ने ग्राहक दिनप्रतिदिन बढिरहेका छन्। बिहानैदेखि बजारमा पहिलेभन्दा बढी चहलपहल देखिन थालेको छ,” खतिवडाले भने।
अर्का व्यापारी श्यामप्रकाश अधिकारीले पनि दशैंको मुख्य किनमेलको समय सुरु भएसँगै व्यापारमा सुधार देखिन थालेको बताए। नेपाली परम्पराअनुसार दशैंमा नयाँ कपडा लगाउने चलन रहेकाले यो समयमा कपडाको व्यापार बढ्ने गरेको उनको भनाइ छ।
“ग्राहकको चाप बढेसँगै सामान देखाउने, मूल्य बताउने र ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउनमै व्यस्त हुन थालेका छौँ। दशैं नजिकिँदै जाँदा अझै चाप बढ्ने अपेक्षा छ,” अधिकारीले भने।
भृकुटीमण्डपमा लत्ताकपडादेखि जुत्ता–चप्पल, खेलौना र दैनिक उपभोगका विभिन्न सामग्री खरिद गर्ने ग्राहकको भीड देखिन थालेको छ।
एउटै स्थानमा विभिन्न मूल्य र गुणस्तरका सामान उपलब्ध हुनु तथा आफ्नो बजेटअनुसार सामग्री छनोट गर्न सकिने भएकाले खुला बजार ग्राहकको रोजाइमा पर्ने गरेको व्यापारीहरूको भनाइ छ।
विशेषगरी सीमित आम्दानी भएका परिवारका लागि दशैंको किनमेलमा खुला बजार र सडक किनारका पसल आकर्षणको केन्द्र बन्ने गरेका छन्। ठूला सपिङ मल तथा व्यापारिक केन्द्रको तुलनामा केही सस्तो मूल्यमा सामान पाइने भएकाले पनि यस्ता बजारमा ग्राहकको आकर्षण बढी देखिन्छ।
सुन्धाराको सडकपेटीमा लुगाकपडा बिक्री गर्दै आएकी संगीता न्यौपानेले पनि दशैं नजिकिएसँगै व्यापारमा चहलपहल बढेको बताइन्।
“सपिङ मलको तुलनामा सडकपेटी र खुला बजारमा केही सस्तोमा सामान पाइन्छ। परिवारका सबै सदस्यका लागि एकैपटक कपडा किन्नुपर्ने भएकाले ग्राहकले मूल्यसँगै गुणस्तर पनि हेर्ने गरेका छन्,” उनले भनिन्।
दशैंसँगै मौसममा परिवर्तन आउन थालेपछि न्यानो कपडाको मागसमेत बढेको व्यापारीहरूले बताएका छन्।
व्यापारी हरिकृष्ण कँडेलका अनुसार ज्याकेट, स्विटर, ट्रयाकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन्।
व्यवसायीहरूले दशैंलाई लक्षित गर्दै विभिन्न डिजाइन, रङ, आकार र मूल्यका कपडाको स्टक बढाएका छन्। महिला, पुरुष तथा बालबालिकाका लागि ग्राहकको मागअनुसार नयाँ डिजाइनका सामान बजारमा ल्याइएको उनीहरूको भनाइ छ।
दशैंको मुख्य किनमेलको समय अझै बाँकी रहेकाले आगामी दिनमा काठमाडौंका प्रमुख व्यापारिक क्षेत्रमा ग्राहकको चाप अझ बढ्ने र व्यापारमा उल्लेख्य सुधार आउने व्यवसायीहरूको अपेक्षा छ।
दशैंको मुखमा बजारमा बढेको चहलपहलले लामो समयदेखि सुस्त रहेको खुद्रा व्यापारमा समेत सकारात्मक ऊर्जा थपेको व्यवसायीहरू बताउँछन्।