२०८३, १६ आश्विन शुक्रबार
×

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित

0 Shares

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन चलेको अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका थिए।

अधिवेशन समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले यस अवधिमा प्रतिनिधि सभाले १२ वटा विधेयक पारित गरेको जानकारी गराए। पारित विधेयकमध्ये ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने बाँकी विधेयक प्रमाणीकरणको प्रक्रियामा रहेको संसद्ले जनाएको छ।

अधिवेशनका क्रममा आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३ तथा सम्पत्ति शुद्धीकरण निवारण तथा केही अन्य ऐन संशोधनसम्बन्धी विधेयक लगायतका महत्वपूर्ण कानुन पारित भएका छन्।

त्यस्तै, विभिन्न २० वटा विधेयक संसदीय समितिमा विचाराधीन रहेको र केही नयाँ विधेयक प्रक्रियामा रहेको सभामुख अर्यालले जानकारी दिए।

जलवायु र विपद् अध्ययनका लागि विशेष समिति

दोस्रो अधिवेशनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्सम्बन्धी विषयको अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ।

अधिवेशनकै क्रममा सरकारको वार्षिक बजेटसमेत पारित गरिएको थियो।

सभामुख अर्यालले संसद् कानुन निर्माणमा मात्र सीमित नरही जनसरोकारका विषय, विपद् व्यवस्थापन तथा समसामयिक राष्ट्रिय मुद्दामा समेत सक्रिय भूमिका निर्वाह गरेको बताए।

उनले विशेषगरी युवा सांसदहरूले संसद्मा प्रस्तुत गरेका तार्किक विचार तथा बहसले संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याएको उल्लेख गरे।

दोस्रो अधिवेशनमा भएका कानुन निर्माण, बजेट पारित तथा समसामयिक राष्ट्रिय विषयमाथिको छलफलसँगै अब संसद्का अगाडि विचाराधीन विधेयकहरूलाई अघि बढाउने र पारित भएका कानुनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने विषय पनि महत्वपूर्ण बन्नेछ।

प्रतिक्रिया