लन्डन — नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला नेपाली जनसम्पर्क समिति, बेलायतमा महाधिवेशन प्रतिनिधि छनोटको विषयले नयाँ विवादको रूप लिन थालेको छ। केन्द्रबाट सदस्यता प्रमाणीकरणको प्रक्रिया अझै पूरा नभएको अवस्थामा प्रतिनिधि छनोट गरी नेपाल पठाउने तयारी अघि बढाइएको भन्दै संगठनभित्र असन्तुष्टि बढेको हो।
बुधबार बसेको बैठकमा पनि प्रतिनिधि छनोट, सदस्यता प्रमाणीकरण र आगामी प्रक्रियाबारे ठोस निष्कर्ष ननिस्किएको बताइएको छ। करिब २ हजार सदस्यको सदस्यता प्रमाणीकरण अझै टुंगोमा नपुगेको अवस्थामा प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाउन खोजिएको भन्दै केही नेता तथा कार्यकर्ताले प्रश्न उठाएका छन्।
यसबीच, अधिवेशन तयारीको संयोजन गरिरहेका शेरबहादुर सुनारले महाधिवेशन प्रतिनिधि छनोट गरी नेपाल पठाउने तयारी अघि बढाइरहेको बुझिएको छ। तर, संगठनको नियमित कार्यसमिति गठन तथा सदस्यताको अन्तिम टुंगो नलाग्दै प्रतिनिधि छनोट गर्न खोजिएको विषयले असन्तुष्टि थप चर्काएको छ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा प्रतिनिधि बन्न इच्छुक केही सदस्यहरू पहिल्यै नेपाल पुगिसकेको चर्चा पनि संगठनभित्र चलेको छ। सदस्यता नै अन्तिम रूपमा प्रमाणीकरण नभएको अवस्थामा सम्भावित प्रतिनिधिहरू नेपाल पुगिसक्नुले ‘प्रतिनिधि छनोटको तयारी पहिले नै भइरहेको हो कि?’ भन्ने प्रश्नसमेत उठेको छ।
केही कांग्रेस कार्यकर्ताले भने, ‘प्रतिनिधि को बन्ने भन्ने टुंगो नलाग्दै केही व्यक्ति नेपाल पुगिसक्नु संयोग मात्रै हो कि तयारीकै हिस्सा हो?’ भन्ने प्रश्न गर्न थालेका छन्। यद्यपि, नेपाल पुगेका व्यक्तिहरू प्रतिनिधिका रूपमा नै गएका हुन् भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन।
संगठनभित्रको अर्को प्रश्न नयाँ कार्यसमिति गठनसँग जोडिएको छ। केही नेता तथा कार्यकर्ताले पहिले सदस्यता प्रमाणीकरण टुंग्याएर, त्यसपछि कार्यसमिति गठन र अन्ततः पारदर्शी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने धारणा राखेका छन्।
उनीहरूको तर्कमा, महाधिवेशन प्रतिनिधि छनोट संगठनको सबैभन्दा संवेदनशील निर्णय भएकाले सीमित व्यक्तिको सहमतिमा होइन, स्पष्ट प्रक्रिया र सबै पक्षको सहभागितामा हुनुपर्छ।
अर्कोतर्फ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको समय नजिकिँदै गएकाले बेलायतबाट प्रतिनिधिको नाम समयमै पठाउनुपर्ने दबाब पनि छ। यही समयसीमा र सांगठनिक प्रक्रियाबीचको टकरावले अहिलेको विवादलाई थप पेचिलो बनाएको छ।
अब मुख्य प्रश्न २ हजार सदस्यको प्रमाणीकरण कहिले टुंगिन्छ, प्रतिनिधि छनोटको अधिकार कसरी प्रयोग हुन्छ र शेरबहादुर सुनारले कुन प्रक्रियाबाट प्रतिनिधिको नाम तय गर्छन् भन्ने बनेको छ।
सदस्यता प्रमाणीकरण, कार्यसमिति गठन र प्रतिनिधि छनोटको क्रम स्पष्ट नगरी निर्णय अघि बढाइए विवाद अझ चर्किन सक्ने देखिन्छ। त्यसैले अहिले बेलायतस्थित कांग्रेसजनको नजर नेपाल पठाइने प्रतिनिधिको नामभन्दा पहिले त्यसको छनोट प्रक्रिया कति पारदर्शी र विधिसम्मत हुन्छ भन्नेमा केन्द्रित भएको छ।