काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ।
नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जानकारी अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
देश तथा विदेशबाट राहत कोषमा रकम जम्मा हुने क्रम जारी रहेकाले बाढीपीडितका लागि सहयोग संकलनमा उल्लेखनीय वृद्धि भएको हो।
कोषमा रहेको रकममध्ये विभिन्न नौ वटा वाणिज्य बैंकहरूमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ नेपाली रुपैयाँ संकलन भएको छ। त्यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा खोलिएका डलर खाताहरूमा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्नर्माणको कार्यलाई तीव्र बनाउन सरकारले यसअघि नै उक्त कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
पीडितहरूलाई पुनर्स्थापित गर्न र प्रभावित क्षेत्रमा सामान्य जीवन फर्काउनका लागि बाँकी रकम पनि आवश्यकता अनुसार उपयोग गर्दै जाने सरकारी तयारी रहेको छ।