मनाङ । अविरल वर्षाका कारण गत आइतबार घट्टेखोलामा लेदोसहित खसेको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउने काम सुरु गरिएको छ। नदी थुनिएर बनेको ताल फुटाएर पानीको निकास दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
“धार परिवर्तन गरेर नदीको पानी अहिले आंशिक रूपमा बगिरहेको छ। यहाँ उपलब्ध एक्साभेटरलगायतका उपकरण प्रयोग गरी केही मात्रामा काम सुरु गरिएको छ,” पौडेलले भने, “ठूला चट्टान फुटाउनुपर्ने देखिएकाले त्यसको तयारी पनि भइरहेको छ।” उहाँका अनुसार नदीले पुलमाथिबाटै धार परिवर्तन गरेर बग्न थालेपछि त्यस क्षेत्रका केही घरहरू डुबानमा परेका छन्।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीय रूपमा उपलब्ध स्रोतसाधनको प्रयोग गरी नदी खुलाउन सकिएमा स्थानीयवासीलाई छिट्टै आफ्ना घर फर्काउन सकिने बताए।
“विस्फोट गराएर चट्टान फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई विशेष ध्यान दिनु आवश्यक छ,” घलेले भने, “एक्साभेटरले अड्किएका ढुङ्गाहरू हटाउन सकियो भने तटीय क्षेत्रमा कम क्षति पुग्नेछ।”
लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा लेदोसहित आएका ठूला ढुङ्गाहरूले मर्स्याङ्दी नदी थुनेको हो। वरपरका बस्ती तथा क्षेत्रमा क्षति नपुग्ने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लयमा फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। नदी खुलाउन सकिएमा स्थानीयमा छाएको त्रास अन्त्य भई वातावरण सहज हुने उनको भनाइ छ।
बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति, खानेपानीको समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच तथा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय ङिस्याङ गाउँपालिका-४ हुम्देमा आएको बाढी र पहिरोले पालिका वरपरका बस्तीका घरहरूभित्र पानी र हिलो पसेको छ।
साथै सब्जे खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति पुगेपछि विद्युत् आपूर्ति व्यवस्था ठप्प बनेको छ। यसअघि वि.सं. २०७८ सालमा पनि सोही घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दीको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो।