लन्डन । बेलायती सेनाको ब्रिगेड अफ गोर्खाज लाई बेलायतप्रतिको दुई शताब्दीभन्दा लामो सैन्य सेवा तथा केन्टका समुदायसँगको दीर्घकालीन सम्बन्धको सम्मानस्वरूप ‘फ्रिडम अफ द काउन्टी अफ केन्ट’ प्रदान गरिएको छ।
केन्ट काउन्टी काउन्सिलले १७ सेप्टेम्बर २०२६ मा बसेको विशेष बैठकमा गोर्खा ब्रिगेडलाई उक्त सम्मान प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। काउन्सिलका नेता लिन्डेन केमकरानले प्रस्ताव अघि सारेकी थिइन्, जसलाई विभिन्न राजनीतिक दलका सदस्यहरूले समर्थन गरेका थिए।
गोर्खा ब्रिगेडको इतिहास १८१५ देखि सुरु भएको मानिन्छ। पहिलो र दोस्रो विश्वयुद्धसहित विश्वका विभिन्न द्वन्द्वमा गोर्खा सैनिकले बेलायती सेनाका तर्फबाट सेवा गरेका छन्। केन्ट काउन्टी काउन्सिलका अनुसार पहिलो विश्वयुद्धमा करिब १ लाख र दोस्रो विश्वयुद्धमा १ लाख १० हजारभन्दा बढी गोर्खाले सेवा गरेका थिए।
काउन्सिलका अध्यक्ष जेरेमी युस्टेसले ‘फ्रिडम अफ केन्ट’ लाई काउन्टीले प्रदान गर्न सक्ने उच्च सम्मानमध्ये एक भएको बताए। उनले गोर्खा ब्रिगेडको सैन्य सेवा, त्याग र प्रतिबद्धतासँगै गोर्खा सैनिक तथा उनीहरूका परिवारको केन्टका स्थानीय समुदायसँगको सम्बन्धलाई सम्मान गरिएको उल्लेख गरे।
केन्टमा गोर्खा समुदाय र बेलायती सेनाको महत्वपूर्ण उपस्थिति छ। फोक्स्टोनको शोर्नक्लिफ ब्यारेक्समा रोयल गोर्खा राइफल्स तथा मेडस्टोनको इन्भिक्टा पार्क ब्यारेक्समा क्विन्स गोर्खा इन्जिनियर्स रहेका छन्।
यो सम्मानसँग कुनै विशेष आर्थिक सुविधा, भत्ता वा अतिरिक्त अधिकार जोडिएको उल्लेख छैन। यसको मुख्य उद्देश्य गोर्खा ब्रिगेडको दीर्घ सैन्य योगदान र केन्टसँगको सम्बन्धलाई औपचारिक रूपमा सम्मान गर्नु हो।