२०८३, २० आश्विन मंगलवार
×

कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा तीनसहित विभिन्न पदमा उम्मेदवारी दर्ता

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेसँगै सभापतिदेखि सहमहामन्त्रीसम्मका विभिन्न पदमा नेताहरूले मनोनयन दर्ता गराएका छन्।

सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्। खड्गीले काठमाडौं–६ का महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ। महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता भएको छ।

खुला उपसभापति पदमा डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ चुनावी मैदानमा छन्।

महामन्त्रीमा पनि प्रतिस्पर्धा

खुला महामन्त्री पदमा शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा र सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।

महिला महामन्त्रीतर्फ **डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’**बीच प्रतिस्पर्धा हुने भएको छ।

सहमहामन्त्रीका विभिन्न क्लस्टरमा पनि उम्मेदवारी दर्ता भएको छ। महिला सहमहामन्त्रीमा नानु बस्तोला र प्रतिमा गौतम तथा खुलातर्फ देवेन्द्रराज कँडेल, रामहरि खतिवडा र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन्।

पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र मीन भाम, खसआर्यतर्फ मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी र जगदिश्वरनरसिंह केसी, थारुतर्फ तेजुलाल चौधरी र योगेन्द्र चौधरी चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, अल्पसंख्यकतर्फ आङगेलु शेर्पा, मुस्लिमतर्फ अब्दुल सत्तर र मधेशीतर्फ अभिषेकप्रताप शाहको उम्मेदवारी परेको छ।

दलित सहमहामन्त्रीमा लक्ष्मी परियार, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र नरेन्द्र पासवानबीच प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेसको नयाँ विधानअनुसार १५औँ महाधिवेशनबाट एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्रीसहित ठूलो केन्द्रीय संरचना चयन हुँदैछ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनअघि दाबी–विरोध र उम्मेदवारी सच्याउने प्रक्रिया पूरा गरिनेछ। त्यसपछि मतदानको प्रक्रिया अघि बढ्ने निर्वाचन कार्यतालिका छ।

प्रतिक्रिया