२०८३, २३ आश्विन शुक्रबार
×

भोटेकोशी बाढीको ४५ दिनपछि पनि उस्तै त्रास, आफन्त गुमाएकाको आँखाबाट ओभाएन आँसु

0 Shares

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीले स्याफ्रुबेँसीको बस्ती उजाडेको ४५ दिन बितिसकेको छ। तर, बाढीको भेलले आफन्त, छिमेकी र बाल्यकालका सम्झना खोसेका स्थानीयको मनबाट त्यो कहालीलाग्दो क्षण अझै हट्न सकेको छैन। बाढीको गर्जन, ज्यान जोगाउन चिच्याइरहेका मानिसको आवाज र आँखैअगाडि बगिरहेको बस्तीको दृश्य उनीहरूको स्मृतिमा अझै ताजै छ।

स्याफ्रुबेँसीका कान्छा तामाङका लागि भदौ १० गतेको त्यो दिन कहिल्यै नबिर्सिने घाउ बनेको छ। बाढी आउनासाथ अग्लो स्थानतर्फ भागेकाले उनको ज्यान त जोगियो, तर सुरक्षित ठाउँमा पुगेपछि देखेको दृश्यले उनलाई जीवनभरका लागि त्रसित बनायो।

“गड्याङगुडुङ गरेर ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त ठूलो बाढी पो रहेछ,” त्यो दिन सम्झिँदै कान्छाले भने, “बेतोडले भागेर अलि माथि पुगेँ। तल हेर्दा मानिसहरू बगिरहेका थिए, कोही ज्यान बचाउन चिच्याइरहेका थिए। हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले सोहोरेर लग्यो।”

आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको पीडा उनको मनमा अझै गढेर बसेको छ। बाढीको तीव्र वेगका कारण उद्धारका लागि भेलमा पस्न सक्ने अवस्था थिएन। आँखैअगाडि मानिसहरू बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नभएको क्षण सम्झँदा अहिले पनि उनको आङ सिरिङ्ग हुन्छ।

बाढीले कान्छाको बस्ती मात्र बगाएन, उनीसँगै हुर्किएका साथीहरू, परिचित अनुहार र बाल्यकालका सुन्दर सम्झनासमेत खोसिदियो। हराभरा बस्ती एकैछिनमा उजाड बगरमा परिणत भयो। अहिले त्यो ठाउँ हेर्दा उनलाई पुरानो जीवनको झल्कोभन्दा बढी गुमाएका आफन्त र साथीहरूको सम्झनाले सताउँछ।

आकाश गर्जिँदा पनि डर, रातभर निद्रा लाग्दैन

बाढी गएको डेढ महिना बितिसक्दा पनि कान्छाको मन शान्त हुन सकेको छैन। फेरि त्यस्तै विपद् दोहोरिने हो कि भन्ने डरले उनलाई निरन्तर सताइरहेको छ।

“त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ,” उनले भने, “फेरि यस्तै विपद् दोहोरिन्छ कि भन्ने डर लागिरहन्छ, रातभर आनन्दले निद्रा नै पर्दैन।”

कान्छाकी श्रीमती ल्हात्सेन डोल्पाको अवस्था पनि उस्तै छ। आँखैअगाडि देखेको त्यो भयावह दृश्य न सम्झिन मन लाग्छ, न सहजै बिर्सन सकिन्छ। आकाशमा मेघ गर्जिँदासमेत उनी झस्किन्छिन्।

“आकाशमा मेघ गर्जँदा पनि डर लाग्छ, हामीलाई जिन्दगीभर नबिर्सिने गहिरो छाप छाडेको छ त्यो बाढीले,” उनले भनिन्।

बाढीले भौतिक संरचना मात्र ध्वस्त पारेको छैन, बाँचेका मानिसको मनमा समेत गहिरो त्रास छाडेको छ। प्राकृतिक विपद्पछि घर र सडक पुनर्निर्माण गर्न सकिएला, तर गुमाएका आफन्त र त्यसले दिएको मानसिक पीडा कसरी फर्काउने भन्ने प्रश्न उनीहरूका लागि अझै अनुत्तरित छ।

छ जना आफन्त गुमाएका सन्दुको प्रश्न—‘मान्छे कसरी फर्काउने?’

स्याफ्रुबेँसीका अर्का स्थानीय सन्दु ज्ञावाले बाढीमा आफ्ना छ जना आफन्त गुमाए। उनको घर भने बाढीबाट जोगियो। तर, घर सुरक्षित रहनुको खुसीभन्दा आफन्त गुमाएको पीडा उनका लागि निकै ठूलो छ।

घरको आँगनमा उभिएर तलतिर हेर्दा देखिने उजाड बगरले उनलाई बारम्बार झस्काउँछ। हिजो बस्ती र मानिसले भरिएको ठाउँ अहिले निर्जन बनेको छ।

“बस्ती र घर त फेरि बनाउन सकिएला, तर गुमाएका मान्छेहरूलाई कसरी फर्काउने ?” सन्दुको यो प्रश्नले बाढीले छाडेको पीडाको गहिराइ देखाउँछ।

सन्दुका अनुसार त्यस दिन बाढी आउँदै गरेको कुनै पूर्वसूचना स्थानीयले पाएका थिएनन्। नदीको आवाज अस्वाभाविक रूपमा बढेपछि मात्रै ठूलो बाढी आएको थाहा भएको थियो। उनले अरूलाई सचेत गराउन खोजे पनि बाढीको गर्जन र तीव्र वेगका कारण मानिसहरूलाई समयमै सुरक्षित स्थानमा पुग्न कठिन भएको बताए।

“हामीले बाढी आउँदैछ भन्ने कुनै सूचना पाएका थिएनौँ, त्यस दिन बाढी आएको देख्नेबित्तिकै सुस्केरा हालेर अरूलाई सचेत गराउन खोजेँ, तर कसैले सुनेनन्,” उनले भने।

अहिले पनि उनलाई त्यो घटना सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ। बिहान उठ्दा सबै कुरा सामान्य भएको पाउन पाए हुन्थ्यो भन्ने चाहना छ। तर, बाढीले खोसेका आफन्त फर्किने छैनन् भन्ने कठोर सत्य स्वीकार गर्न उनलाई कठिन भइरहेको छ।

सन्दुलाई अर्को चिन्ताले पनि सताइरहेको छ—फेरि त्यस्तै वा त्योभन्दा ठूलो बाढी आए के गर्ने? गत वर्ष पनि भोटेकोशीमा बाढी आएको सम्झँदै उनले अब जुनसुकै बेला विपद् आउन सक्ने डर मनमा बसिरहेको बताए।

बाढीपछि बाँच्न पनि उत्तिकै कठिन

विपद्को घाउसँगै प्रभावित क्षेत्रका बासिन्दाका लागि दैनिक जीवनयापन अर्को चुनौती बनेको छ। घरबार गुमाएका परिवार मात्र होइन, बाढीबाट प्रत्यक्ष क्षति नभएका तर प्रभावित क्षेत्रमै रहेका मानिसलाई समेत सामान्य जीवनमा फर्कन कठिन भइरहेको छ।

सन्दुका अनुसार बजारसम्म पुग्न समस्या छ। नजिकै पसल नहुँदा टाढाबाट सामान ल्याउनुपर्ने र महँगो मूल्य तिर्नुपर्ने अवस्था छ। पूर्ण रूपमा प्रभावित परिवारको सूचीमा नपरेका कतिपयले राहत लिन जानसमेत असहज महसुस गरिरहेका छन्।

“महँगी असाध्यै बढेको छ, हामी प्रभावित क्षेत्रका भए पनि पूर्ण रूपमा प्रभावित परिवारको सूचीमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन। किनेर खाऔँ भने नजिकै बजार छैन, अलि टाढा जाँदा सामान असाध्यै महँगो पर्छ,” उनले भने, “बाँच्नेहरूका लागि पनि जिउन निकै गाह्रो भइरहेको छ।”

यति हुँदाहुँदै पनि सन्दुको मनमा पुनः सामान्य जीवनमा फर्कने आशा मरेको छैन। सडक बन्ला, पुल बन्ला र बस्ती फेरि बस्ला भन्ने अपेक्षा उनलाई छ। तर, पुनर्निर्माण कहिले सम्पन्न हुन्छ र जीवन कहिले सहज बन्छ भन्ने निश्चित छैन।

विकल्पका रूपमा तुइन, आवतजावतमा जोखिम

बाढीले सडक तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रका बासिन्दाले आवतजावतका लागि वैकल्पिक उपाय अपनाउनुपरेको छ। सामान किन्न वा उपचारका लागि जानसमेत घण्टौँ कुरेर तुइनबाट खोला तर्नुपर्ने अवस्था रहेको कान्छा तामाङले बताए।

“तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ, तर के गर्नु तुइनबाहेक अन्य कुनै विकल्प नै छैन,” उनले भने।

स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चारवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। ती तुइन निर्माण तथा मर्मतमा करिब २० लाख रुपैयाँ खर्च भएको छ।

नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ। त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा रहेको तुइनलाई पनि मोटराइज्ड गर्ने काम भएको अधिकारीले जानकारी दिए।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका–५ देवघाट क्षेत्रका तुइन पनि सञ्चालनमा छन्।

विभागका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा खानी क्षेत्रका कारण नेपाली सेनाले आवागमनमा रोक लगाएपछि तुइन जडानका लागि स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रसुवाको रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ।

१२ झोलुङ्गे पुलको मर्मत सम्पन्न, नौवटाको काम अन्तिम चरणमा

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भएका १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ। थप नौवटा पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता अधिकारीका अनुसार क्षतिग्रस्त पुल मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्टस् खरिद गरिएको छ। तेस्रो चरणका लागि आवश्यक सामग्री खरिद गर्ने सम्झौता भइसकेको र पहिलो खेपको सामानसमेत आपूर्ति भएको छ।

मर्मत सम्पन्न पुलहरूमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल रहेका छन्। गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मतसमेत सम्पन्न भएको छ।

यी १२ वटा पुलको मर्मतमा करिब तीन करोड रुपैयाँ खर्च भएको विभागले जनाएको छ।

त्यस्तै, गोरखा–धादिङको बादरे, धुवादीघाट, जिन्टे–स्यालटार, धादिङ–नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा–धादिङको जोगीमारा र कौडीखोला, गोरखा–चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत अन्तिम चरणमा पुगेको छ।

विभागले क्षतिग्रस्त पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम पनि सुरु गरेको छ। आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको र थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्ताव पेस गरिएको अधिकारीले जानकारी दिए।

पुनर्निर्माणको प्रतीक्षामा बाँचेकाहरू

भोटेकोशीको बाढीले स्याफ्रुबेँसीमा छाडेको घाउ अझै निको भएको छैन। भौतिक संरचना पुनर्निर्माणका काम अघि बढे पनि आफन्त गुमाएका परिवारको पीडा र बाँचेकाहरूको मनमा बसेको डर तत्काल हट्ने अवस्था छैन।

कान्छा र सन्दुजस्ता बाढीबाट बाँचेका स्थानीयका लागि अहिलेको जीवन गुमाएका आफन्तको सम्झना, फेरि विपद् दोहोरिने त्रास र सामान्य अवस्थामा फर्कने प्रतीक्षाबीच बितिरहेको छ। उनीहरूका लागि पुनर्निर्माण भनेको सडक, पुल र घर बनाउनु मात्र होइन—सुरक्षित रूपमा बाँच्न पाउने भरोसा पुनः स्थापित गर्नु पनि हो।

— प्रगति ढकाल/रासस

प्रतिक्रिया