काठमाडौं । बडादसैं नजिकिएसँगै राजधानी काठमाडौंको नयाँ बसपार्कबाट घर फर्किने यात्रुको चाप अत्यधिक बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू दसैं मनाउन धमाधम आफ्नो गाउँघर फर्किरहेका छन्।
यात्रुको चाप बढेसँगै नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा भीड बढेको छ।
नयाँ बसपार्कको सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँ बसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ जना यात्रु बाहिरिएका छन्।
उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार १२३, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० जनाले बसपार्कबाट यात्रा गरेका छन्।
दसैंमा घर फर्किने यात्रुको संख्या तीव्र रूपमा बढेपछि यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न कठिनाइ भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको खराब अवस्थाले यातायात सञ्चालन थप जटिल बनाएको बताए।
गत असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको पहिलो दिनमै धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारीसाधनको आवागमन अवरुद्ध भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यात्रु व्यवस्थापनमा समस्या उत्पन्न भएको गौतमले जानकारी दिए।
दसैंका लागि घर फर्किने यात्रुको चाप बढिरहेका बेला सडकको अवस्थाले यात्रा थप असहज बनाएको व्यवसायीहरूको भनाइ छ।
यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुलाई आधिकारिक टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
महासंघले सरकारले तोकेको मापदण्डअनुसारको भाडा मात्रै तिर्न तथा आफू चढ्ने सवारीसाधनको प्राविधिक अवस्था जाँच गरेर मात्रै यात्रा तय गर्न अनुरोध गरेको छ।
दसैं परिवार, आफन्त र समुदायबीच भेटघाट तथा सम्बन्ध नवीकरण गर्ने महत्वपूर्ण पर्व भएकाले हरेक वर्ष काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसहरू गाउँघर फर्किने गर्छन्। यस वर्ष पनि चाडपर्व मनाउन घर फर्किने क्रम तीव्र बनेसँगै नयाँ बसपार्कमा यात्रुको चहलपहल बढेको छ।