२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : गगनकुमार थापा

0 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्जसहित देशका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थालाई साम्य पार्न सबै राजनीतिक दल, सरकार, प्रशासन र सञ्चारमाध्यमले साझा प्रयास गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए।

उनले आफ्ना दलहरूले छुट्टाछुट्टै रूपमा गरिरहेका पहललाई साझा अभियानका रूपमा अघि बढाउँदै सबै राजनीतिक दल, प्रशासन र सञ्चारमाध्यमलाई पनि संयमता अपनाउन तथा सद्भाव कायम राख्न सामूहिक अपिल जारी गर्न बैठकमा प्रस्ताव गरेको जानकारी दिए।

थापाले वर्तमान परिस्थितिमा सर्वदलीय बैठकको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरे। यद्यपि, प्रमुख राजनीतिक दलका रूपमा रास्वपाले बैठक आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले यस्तो पहललाई सकारात्मक रूपमा लिएको बताए।

सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले घटनापछि आवश्यक राजनीतिक समन्वय हुन नसकेको आरोप लगाए। उनका अनुसार सरकार सुरक्षा निकायको परिचालन वा बल प्रयोगमा मात्र सीमित हुन नहुने, संवाद, समन्वय र विश्वास निर्माणलाई प्राथमिकता दिनुपर्छ।

“यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्टाटसमा सीमित छ। सरकारले अरूलाई विश्वास गर्नुपर्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग छलफल गर्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयासको नेतृत्व गर्नुपर्थ्यो,” थापाले भने।

उनले सुनसरी घटनालाई लिएर कुनै पनि प्रकारको सामाजिक वा धार्मिक विभाजन बढ्न नदिन सबै पक्षले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। राजनीतिक नेतृत्व, प्रशासन, सञ्चारमाध्यम तथा नागरिक समाजबीच समन्वय र संवादमार्फत मात्रै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सकिने उनको भनाइ थियो।

प्रतिक्रिया