काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जायज माग तत्काल सम्बोधन गर्दै देशभर स्वास्थ्य सेवा सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै थापाले उक्त घटना सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका छन्।
उनले नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु, उपचारका क्रममा वा उपचार गरेको आधारमै दुर्व्यवहार र भौतिक आक्रमणको शिकार हुनु राज्यका लागि गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन्।
घटनापछि नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएसँगै उपचारको प्रतीक्षामा रहेका हजारौं बिरामी प्रभावित भएको उल्लेख गर्दै थापाले यस्तो अवस्था दीर्घकालीन समाधान खोज्नुपर्ने संकेत भएको बताएका छन्। उनका अनुसार आफ्नो पेशागत सुरक्षा सुनिश्चित गर्न सेवा बन्दजस्तो अप्रिय निर्णय गर्नुपर्ने अवस्था सिर्जना हुनु राज्य संयन्त्रको कमजोरी हो।
थापाले चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नारायणी अस्पताल घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै आन्दोलनका क्रममा चिकित्सकहरूमाथि दुर्व्यवहार गरेको आरोप लागेका सम्बन्धित अधिकारी तथा प्रहरीमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।
सरकारले नेपाल चिकित्सक संघ तथा स्वास्थ्यकर्मीहरूसँग तत्काल संवाद गरी उनीहरूको पेशागत सुरक्षा सम्बन्धी माग सम्बोधन गर्नुपर्नेमा जोड दिँदै थापाले ओपिडी लगायत अत्यावश्यक स्वास्थ्य सेवा अविलम्ब सञ्चालनमा ल्याउन विशेष पहल गर्न आग्रह गरेका छन्।
साथै स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसको संवेदनशीलतालाई ध्यानमा राख्दै आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि बिरामीको पीडा र नागरिकको हितलाई मध्यनजर गर्दै सेवा प्रवाह नरोक्न तथा वार्ता र संवादमार्फत समाधान खोज्न अपिल गरेका छन्।
थापाले सरकार, चिकित्सक समुदाय र सम्बन्धित सबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्दै स्वास्थ्य क्षेत्रका यस्ता समस्या दोहोरिन नदिने दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको समेत बताएका छन्।