काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। खुला महामन्त्रीतर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् भने महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न मतगणनाअनुसार खुला महामन्त्रीका दुई पदमा पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा विजय हासिल गरेका छन्। उदयशमशेर राणा २ हजार ३३० मत प्राप्त गरी दोस्रो विजेता बनेका छन्।
खुला महामन्त्रीतर्फका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ले ३ हजार ११८ मत प्राप्त गर्दै विजय हासिल गरेकी छन्।
उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन्।
संग्रौलाको विजयसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट महिला महामन्त्री पदमा नयाँ नेतृत्व चयन भएको छ।
यसअघि नै खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भइसकेका छन्। समावेशी उपसभापति पदमा विनोदकुमार चौधरी विजयी भएका छन्।
महामन्त्री पदको अन्तिम परिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ पदाधिकारी चयन प्रक्रिया थप अघि बढेको छ। अब बाँकी पदको निर्वाचन परिणामसँगै पार्टीको नयाँ नेतृत्व संरचना पूर्ण हुने अपेक्षा गरिएको छ।