२०८३, २९ आश्विन बिहीबार
×

कांग्रेस १५औं महाधिवेशन: आज रातिसम्म सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने

0 Shares

काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको अन्तिम परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सबै पदको मतगणना सम्पन्न गरी आज रातिसम्म परिणाम घोषणा गर्ने तयारी मिलाइएको छ।

नयाँ नेतृत्व चयनका क्रममा पदाधिकारीतर्फ सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ। सभापतिमा गगनकुमार थापा भारी मतका साथ निर्वाचित भएका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याए। उक्त निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो।

उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी भएका छन् भने खुला सहमहामन्त्रीतर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडासहित विभिन्न समूहका सहमहामन्त्रीहरूको नतिजा पनि आइसकेको छ।

हाल केन्द्रीय कार्यालय सानेपामा टोलीहरू गठन गरी खुला (४५ पद), महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहका केन्द्रीय सदस्यहरूको मतगणना तीव्रताका साथ भइरहेको छ। धेरै उम्मेदवार र ठूलो सङ्ख्याका मतपत्र भएकाले अन्तिम नतिजा आउन केही समय लागेको निर्वाचन समितिले जनाएको छ।

बाँकी सबै समूहको गणना सकिएपछि आज राति कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण रूपरेखा सार्वजनिक हुनेछ।

प्रतिक्रिया