लन्डन । नेपालमा आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाउनेहरूको सम्झना तथा प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै रोयल बरो अफ ग्रीनविचमा ‘Vigil and Act of Remembrance’ कार्यक्रम सम्पन्न भएको छ। दीप प्रज्वलन, मौनधारण र बहुधार्मिक प्रार्थनासहित आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, ग्रीनविचका मेयर, काउन्सिल लिडर एन्थोनी ओकेरेके, काउन्सिलरहरू, धर्मगुरु, सामुदायिक अगुवा तथा नेपाली र स्थानीय समुदायका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता व्यक्तिहरूको सुरक्षित उद्धार, घाइतेहरूको उपचार तथा प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि प्रार्थना गरिएको थियो।
कार्यवाहक राजदूत दुवाडीले नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउने ग्रीनविच काउन्सिल तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरे।
कार्यक्रमको पहल तथा संयोजन ग्रीनविचका पूर्व मेयर एवं काउन्सिलर जीत रानाभाट र काउन्सिलर गौमाया गुरुङ रानाभाटले गरेका थिए। जीत रानाभाट प्लमस्टेड एन्ड ग्लिण्डन वार्ड तथा गौमाया गुरुङ रानाभाट एबिवुड वार्डबाट निर्वाचित काउन्सिलर हुन्।

रानाभाट दम्पतीले विशेषगरी भोटेकोशी क्षेत्रमा बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा नेपाल र नेपाली समुदायसँग ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको बताए।
मल्टिफेथ प्रार्थनामा मृतकहरूको आत्माको शान्ति, बेपत्ताको सुरक्षित उद्धार तथा प्रभावित समुदायको शीघ्र पुनर्निर्माणका लागि कामना गरिएको थियो।
कार्यक्रममा नेपाली संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने काउन्सिल, धर्मगुरु, सामुदायिक संस्था, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्।