२०८३, २१ भाद्र आईतवार
×

ट्रेन्डिङ

नेपालका बाढीपहिरो पीडितको सम्झनामा लेस्टरमा दीप प्रज्वलन, श्रद्धाञ्जली सभा सम्पन्न

0 Shares
Spread the love

लेस्टर, बेलायत। — नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेलायतको लेस्टरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

सृजनशील लेस्टर नेपाल यूकेको आयोजनामा लेस्टरको टाउन हल स्क्वायरमा आयोजित कार्यक्रममा नेपाली समुदायसँगै स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नेपालको राष्ट्रिय झण्डा वरिपरि मैनबत्ती तथा फूल सजाएर प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नेपालीहरूप्रति शोक, श्रद्धा र ऐक्यबद्धता व्यक्त गरेका थिए।

स्थानीय जनप्रतिनिधिदेखि सामाजिक अगुवासम्मको सहभागिता

नेपालमा भएको विपत्तिप्रति ऐक्यबद्धता जनाउन कार्यक्रममा लेस्टर क्षेत्रका स्थानीय जनप्रतिनिधि तथा विभिन्न समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सांसद शिवानी राजा (Shivani Raja), लेस्टरका लर्ड मेयर कुलविन्डर सिंह जोहल (Kulwinder Singh Johal), काउन्सिलर भुपेन्द्र दवे (Bhupendra Dave) तथा क्राइम कमिशनर रुपर्ट म्याथ्यु (Rupert Matthews) लगायतको उपस्थिति थियो।

त्यसैगरी शान्तिधाम लेस्टरका अध्यक्ष बिनोड पोपट (Binod Popat), ब्रिट्स देसी सोसाइटीका अध्यक्ष रिशु वालिया (Rishu Walia) लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।

सञ्चार क्षेत्रबाट पुकार न्युजका रुमेल (Rumel) तथा ITV News का राजीव (Rajiv) लगायत सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

नेपाली समुदायको उल्लेख्य सहभागिता

सृजनशील लेस्टर नेपाल यूकेका अध्यक्ष शिव पराजुलीको नेतृत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव वरुण भण्डारीले गरेका थिए।

कार्यक्रममा संस्थापक अध्यक्ष राजु कँडेल तथा पूर्व अध्यक्षहरू दयानिधि सापकोटा, बलराम चापागाईं र पुण्डरी अर्यालको पनि सहभागिता रहेको थियो।

त्यसैगरी बुद्ध फाउन्डेसन यूकेका सुरेन रुपाखेती लगायत नेपाली समुदायका अग्रज, सामाजिक अभियन्ता, महिला, युवा तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।

मातृभूमिको दुःखमा प्रवासी नेपालीको ऐक्यबद्धता

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा भएको प्राकृतिक विपत्तिले पुर्‍याएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको समयमा प्रवासमा रहेका नेपालीहरू आफ्नो मातृभूमि र पीडित परिवारको दुःखमा सधैँ साथमा रहने बताएका थिए।

सहभागीहरूले बाढीपहिरोमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे। साथै, शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपत्तिबाट प्रभावित सबैको शीघ्र पुनर्स्थापनाको कामना गरिएको थियो।

लेस्टरमा आयोजित उक्त दीप प्रज्वलन कार्यक्रमले हजारौँ किलोमिटर टाढा रहे पनि प्रवासी नेपालीको मन र भावना मातृभूमिसँगै रहेको सन्देश दिएको थियो।

प्रतिक्रिया