लण्डन । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको भीषण बाढीमा श्रीमती, आमा, भाइ र काका सम्पर्कविहीन भएपछि बेलायतको ससेक्समा बस्दै आएका नेपाली प्रमोद पौडेल परिवारको खोजीका लागि नेपाल फर्किएका छन्।
दुई महिनाअघि मात्र विवाह गरेका पौडेलकी श्रीमती सुमित्रा सापकोटा पनि बाढीपछि सम्पर्कविहीन भएकी छन्। उनी केही समयपछि बेलायत आउने तयारीमा थिइन्। पौडेलले बेलायतमा फुड ट्रक व्यवसाय सञ्चालन गर्दै आएका छन्।
बाढीपछि परिवारका सदस्यसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि फोन सम्पर्क हुन नसकेपछि उनी नेपालतर्फ लागेका हुन्। सञ्चार तथा विद्युत् सेवा प्रभावित भएकाले परिवारको वास्तविक अवस्थाबारे जानकारी पाउन कठिन भइरहेको पौडेलले बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका बाढीपछिका दृश्यले आफ्नो गाउँमा ठूलो क्षति पुगेको देखेपछि आफू थप चिन्तित बनेको उनले बताएका छन्। आफ्नै परिवार विपद्मा परेको अवस्थामा घटनाको पीडा निकै कठिन भएको पौडेलको भनाइ छ।
नेपाल पुगेपछि काठमाडौं हुँदै सडकमार्गबाट आफ्नो घरतर्फ जाने उनको योजना छ। तर बाढीले सडक तथा अन्य पूर्वाधारमा क्षति पुर्याएकाले यात्रा सहज नहुने अवस्था छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ। ठूलो मानवीय क्षति भएको घटनामा नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएका छन्।