२०८३, १२ भाद्र शुक्रबार
×

ट्रेन्डिङ

रसुवाको बाढीमा ठूलो जनधनको क्षति, ४६९ शव फेला; २८ प्रहरी अझै बेपत्ता

0 Shares
Spread the love

काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा विपद्मा परी हालसम्म ४६९ जनाको शव फेला परेको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

विपद् प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले ४ हजार ३४८ जना जनशक्ति परिचालन गरेको जनाएको छ। उद्धार कार्यलाई तीव्र पार्दै बेपत्ताको खोजीसमेत जारी राखिएको छ।

प्रहरीका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट १ हजार ५४५ जना नागरिक तथा घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८४ जना रहेको छ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जना रहेका छन्। त्यस्तै नवलपरासी (पूर्व) मा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै नुवाकोटबाट ८९८ जना रहेका छन्। त्यस्तै रसुवाबाट ६४४ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ।

बाढीले प्रभावित जिल्लामा खोजी तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउँदै बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। विपद्को अवस्था अझै चुनौतीपूर्ण रहेकाले सुरक्षा निकायले उद्धारसँगै राहत तथा प्रभावितको व्यवस्थापनलाई समेत निरन्तरता दिएको छ।

नेपाल प्रहरीले प्रभावित क्षेत्रमा परिचालित जनशक्तिमार्फत सम्भावित जोखिमयुक्त स्थानमा खोजी कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया