२०८३, ३० असार मंगलवार
×

ट्रेन्डिङ

बेलायतमा क्यान्सरबाट नेपाली विद्यार्थीको निधन, शव नेपाल लैजान सहयोगको अपिल

0 Shares
Spread the love

लन्डन, – उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका प्युठान जिल्लाको दरभाङका १९ वर्षीय नेपाली विद्यार्थी आशिष कुँवर क्षेत्रीको क्यान्सरका कारण निधन भएको छ। उनको पार्थिव शरीर नेपाल लैजान आवश्यक खर्च जुटाउन सहयोग अभियान सुरु गरिएको छ।

क्षेत्री जनवरी २०२५ मा कम्प्युटर साइन्स विषय अध्ययन गर्न बेलायत आएका थिए। उनी युनिभर्सिटी अफ वेस्ट लन्डनमा अध्ययनरत थिए। बेलायत आएको केही समयमै उनलाई क्यान्सर भएको पुष्टि भएपछि ह्यामरस्मिथ अस्पतालमा उपचार सुरु गरिएको थियो। लामो समयसम्म उपचार र संघर्षपछि उनले जीवनसँगको लडाइँ हार्न पुगे।

उनी पश्चिम लन्डनको ग्रीनफोर्ड, इलिङमा आफ्नी दिदी अर्जु केसीसँग बस्दै आएका थिए। अर्जु अल्स्टर विश्वविद्यालयमा अध्ययनरत छिन्। स्वर्गीय आशिष गोविन्द कुँवर क्षेत्री र शान्ता केसीका सुपुत्र हुन्।

उनको असामयिक निधनप्रति बेलायतस्थित नेपाली समुदायले गहिरो दुःख व्यक्त गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले आशिषको निधनले परिवार मात्र होइन, सम्पूर्ण नेपाली समुदाय स्तब्ध भएको बताए।

“उज्ज्वल भविष्यको सपना बोकेर बेलायत आएका एक होनहार विद्यार्थीलाई असमयमै गुमाउनुपर्दा हामी सबै मर्माहत भएका छौं। यस कठिन घडीमा शोकसन्तप्त परिवारलाई साथ दिन र पार्थिव शरीर नेपाल पठाउन आवश्यक सहयोग गर्न बेलायतस्थित नेपाली समुदाय तथा संघसंस्थासमक्ष हार्दिक अपिल गर्दछु,” पुडासैनीले भने।

राप्ती समाज यूकेका अध्यक्ष चन्द्रबहादुर शाहीले पनि स्वर्गीय क्षेत्रीको पार्थिव शरीर स्वदेश पुर्‍याउने अभियानमा सबैले सक्दो आर्थिक सहयोग गर्न आग्रह गरेका छन्।

परिवारका अनुसार तामाङ समाज यूकेको समन्वयमा गोफन्डमी (GoFundMe) मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ। अभियानमा सहभागी भई शोकाकुल परिवारलाई साथ दिन उनीहरूले सबैमा अनुरोध गरेका छन्।

प्रतिक्रिया