२०८३, २३ कार्तिक आईतवार
×

लेस्टरमा पासा पुचः गुथि यूके मिडल्यान्ड्सको शुभारम्भ, निशेन्तमान बज्राचार्य अध्यक्ष

0 Shares

लेस्टर, बेलायत । बेलायतको मिडल्यान्ड्स क्षेत्रमा नेवा: भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित पासा पुचः गुथि यूके, मिडल्यान्ड्स च्याप्टरको औपचारिक उद्घाटन तथा नयाँ कार्यसमिति घोषणा गरिएको छ।

शनिबार, ७ नोभेम्बर २०२६ मा लेस्टरस्थित गुर्खा करी, 1A Kerrysdale Avenue मा आयोजित कार्यक्रममा निशेन्तमान बज्राचार्यको अध्यक्षतामा संस्थाको पहिलो कार्यसमिति गठन गरिएको हो।

नवगठित समितिको उपाध्यक्षमा हरि महर्जन, महासचिवमा पंकज प्रधान, सहसचिवमा रमा श्रेष्ठ तथा कोषाध्यक्षमा दिव्या श्रेष्ठ चयन भएका छन्। यसैगरी शिक्षा तथा संस्कृति, युवा, सामुदायिक सेवा तथा परोपकार र सामाजिक सञ्जाल विभागका संयोजक तथा सदस्यहरू पनि चयन गरिएको छ।



विभिन्न च्याप्टरका प्रतिनिधिको उल्लेखनीय सहभागिता

उद्घाटन समारोहमा पासा पुचः गुथि यूकेका विभिन्न च्याप्टरका पदाधिकारी, पूर्वअध्यक्ष, संरक्षक, सल्लाहकार तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साउथ इस्ट लन्डन च्याप्टरबाट बीओटी अध्यक्ष सुशील प्रजापति, बीओटी संयुक्त कोषाध्यक्ष तथा उपाध्यक्ष सोनी श्रेष्ठ, पूर्वअध्यक्ष तथा बीओटी कार्यकारी सदस्य माधव लाल श्रेष्ठ र नेवा: मैजु पुचः संयोजक गायत्री श्रेष्ठ सहभागी भएका थिए।

त्यसैगरी रिडिङ च्याप्टरबाट अध्यक्ष दिव्या महर्जन, महासचिव सुदांशु श्रेष्ठ तथा पूर्वअध्यक्षहरू राजेन्द्र श्रेष्ठ र जानकी कायस्थको उपस्थिति रहेको थियो।

लन्डन च्याप्टरबाट पूर्वअध्यक्ष तथा संरक्षक ओजेश सिंह र बीओटी सल्लाहकार, संरक्षक तथा च्याप्टर अध्यक्ष सचेतन तुलाधर सहभागी भएका थिए।

भाषा र संस्कृतिलाई भावी पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता

नवनिर्वाचित अध्यक्ष निशेन्तमान बज्राचार्यले मिडल्यान्ड्स क्षेत्रमा रहेका सम्पूर्ण नेवा: समुदायलाई एकताबद्ध गर्दै मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता रहने बताएका छन्।

उनले म्हः पूजा, नेपाल संवत् लगायतका सांस्कृतिक पर्व तथा सामाजिक सेवाका गतिविधिमार्फत समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा नेवा: समुदायका गौरव, सगरमाथा आरोही तथा दुई गिनिज वर्ल्ड रेकर्डका धारक साजन डंगोललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।



बर्मिंघममा पहिलो सामूहिक म्हः पूजा आयोजना हुँदै

नवगठित पासा पुचः गुथि यूके, मिडल्यान्ड्सले आफ्नो पहिलो सामूहिक म्हः पूजा कार्यक्रम आगामी मंगलबार, १० नोभेम्बर २०२६ मा बर्मिंघमको वेस्ट ब्रोमविचमा आयोजना गर्ने जनाएको छ।

मिडल्यान्ड्स क्षेत्रमा नेवा: समुदायको सांस्कृतिक पहिचानलाई संस्थागत रूपमा संरक्षण र प्रवर्द्धन गर्ने दिशामा च्याप्टरको स्थापना महत्वपूर्ण कदमका रूपमा लिइएको छ। विभिन्न च्याप्टरका प्रतिनिधिहरूको सहभागिताले बेलायतभरिका नेवा: समुदायबीच आपसी सम्बन्ध, सहकार्य र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया