२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

असल लिम्बुको सभापतिमा दाबी, जनसम्पर्क समिति बेलायतमा नेतृत्वको समीकरण तात्यो

संगठनलाई नयाँ गतिमा अघि बढाउने प्रतिबद्धता
0 Shares
Spread the love

लन्डन — नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन यही आइतबार हुने तय भएसँगै नयाँ नेतृत्वका लागि दौड तीव्र बनेको छ। अधिवेशनको मिति नजिकिँदै जाँदा बेलायतस्थित कांग्रेसजनमा नेतृत्व परिवर्तन, संगठनको भावी दिशा र नयाँ कार्यसमितिको सम्भावित समीकरणबारे चर्चा चुलिएको छ।

यसैबीच, नेपाली जनसम्पर्क समिति बेलायतका वर्तमान उपसभापति असल लिम्बुले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समयदेखि संगठनमा सक्रिय रहँदै आएका लिम्बुले नेतृत्वमा आए संगठनलाई थप गतिशील, एकताबद्ध, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभापति पदमा आफ्नो दाबी प्रस्तुत गर्दै लिम्बुले संगठनलाई केवल औपचारिक कार्यक्रम र गतिविधिमा सीमित नराखी बेलायतस्थित नेपाली समुदायसँगको सम्बन्ध विस्तार, सदस्यहरूको सक्रिय सहभागिता तथा पार्टीसँगको सांगठनिक सम्बन्धलाई थप प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

‘संगठनलाई अझ सक्रिय, समावेशी र परिणाममुखी बनाउनु मेरो मुख्य प्राथमिकता हुनेछ। नेतृत्व भनेको पद मात्र होइन, जिम्मेवारी पनि हो। त्यो जिम्मेवारीलाई प्रभावकारी काम र परिणाममार्फत प्रमाणित गर्न म प्रतिबद्ध छु,’ लिम्बुले भनेका छन्।

उनका अनुसार नेपाली जनसम्पर्क समिति यूकेलाई समयअनुकूल ढंगले अघि बढाउन संगठनभित्रको एकता, नयाँ पुस्ताको सहभागिता र समुदायसँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिकतामा राख्न आवश्यक छ।

नेपाली कांग्रेसको प्रवासी संगठनका रूपमा नेपाली जनसम्पर्क समिति बेलायतले बेलायतमा रहेका नेपाली कांग्रेस समर्थक तथा नेपाली समुदायलाई पार्टीसँग जोड्ने भूमिका निर्वाह गर्दै आएको छ। आगामी नेतृत्वका लागि हुने प्रतिस्पर्धाले संगठनको आगामी कार्यदिशा र प्राथमिकतामाथि पनि प्रभाव पार्ने देखिएको छ।

आगामी हप्ता हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघि बेलायतमा शेरबहादुर सुनारको संयोजकत्वमा अधिवेशन तयारी अघि बढिरहेको छ। अधिवेशन नजिकिँदै जाँदा बेलायतस्थित कांग्रेसजनमा राजनीतिक सक्रियता बढेको छ भने सम्भावित उम्मेदवार र नेतृत्व समीकरणबारे पनि छलफल तीव्र भएको छ।

वर्तमान उपसभापति असल लिम्बुको सभापति पदमा दाबीले आगामी अधिवेशनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ। अबको अधिवेशनले नयाँ नेतृत्व चयनसँगै नेपाली जनसम्पर्क समिति यूकेको आगामी सांगठनिक प्राथमिकता, कार्यशैली र राजनीतिक दिशासमेत निर्धारण गर्नेछ।

अधिवेशनले नेतृत्व चयनसँगै संगठनलाई कस्तो नयाँ दिशा दिन्छ भन्ने विषयमा बेलायतस्थित कांग्रेसजनको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया