२०८३, १७ कार्तिक सोमबार
×

‘भ्रम र आरोपले कांग्रेसलाई रोक्न सकिँदैन’ : निष्पक्ष अनुसन्धान गर्न गगन थापाको चुनौती

0 Shares

काठमाडौं। नेपाली कांग्रेसले पार्टी र नेतृत्वलाई लक्षित गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका समाचार र आरोपप्रति कडा आपत्ति जनाउँदै प्रमाणमा आधारित निष्पक्ष अनुसन्धान गर्न सरकारलाई चुनौती दिएको छ। सरकारका गतिविधिमाथि उठिरहेका प्रश्नबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित भ्रम फैलाइएको कांग्रेसको आरोप छ।

सभापति गगनकुमार थापाको सचिवालयले सार्वजनिक गरेको वक्तव्यमा कांग्रेसविरुद्ध भइरहेका प्रचारलाई निराधार, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरिएको छ। पार्टीले यस्ता गतिविधिबाट विचलित नभई लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनका पक्षमा आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने स्पष्ट पारेको छ।

महाधिवेशन र नेतृत्वको वैधानिकता पुष्टि भएको दाबी

कांग्रेसले पार्टीको विशेष महाधिवेशन, नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग तथा अदालतका निर्णयबाट पुष्टि भइसकेको जनाएको छ।

पार्टीका अनुसार संविधान, प्रचलित कानुन, विधान र सर्वोच्च अदालतको आदेशअनुसार हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत वैधानिकतालाई थप स्थापित गरेको छ। कांग्रेसले आफू विधिसम्मत प्रक्रिया र संवैधानिक निकायका निर्णयको सम्मान गर्दै अघि बढेको दाबी गरेको छ।

वक्तव्यमा सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र विधिको शासनविपरीत देखिए कांग्रेसले सशक्त प्रतिवाद गर्ने उल्लेख छ। सरकारका सकारात्मक काममा साथ दिने तर प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चतामाथि प्रहार हुने गतिविधिको विरोध गर्ने पार्टीको धारणा रहेको छ।

बिचौलिया प्रकरणमा निष्पक्ष छानबिनको माग

कांग्रेस सभापति गगनकुमार थापाले बिचौलियासँग सम्बन्धित विषय तथा त्यससँग जोडिएका सबै प्रकरणमा गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने बताएका छन्। दोषी देखिने जोकोहीलाई कानुनी दायरामा ल्याउन सरकारलाई पार्टीको पूर्ण साथ रहने उनको भनाइ छ।

तर अनुसन्धानको निष्पक्षतामाथि भने थापाले गम्भीर आशङ्का व्यक्त गरेका छन्। अनुसन्धानमा संलग्न निकायको छापसहितका कागजात, प्रमाण तथा कथित बयानहरू छानिछानी सार्वजनिक हुनु र केही विवरण मात्र बाहिर आउनुले प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भइरहेको हुन सक्ने उनको आशङ्का छ।

उनले अनुसन्धान चयनात्मक ढङ्गले अघि बढाइएको हो कि भन्ने प्रश्न उठाउँदै अनुसन्धानमा संलग्न निकायभित्रैका व्यक्तिहरूको भूमिकामाथि समेत निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

थापाको भनाइमा, अनुसन्धानको विश्वसनीयता कायम राख्न सम्पूर्ण प्रक्रिया पारदर्शी हुनुपर्छ र कुनै पनि व्यक्ति वा पक्षलाई राजनीतिक आग्रहका आधारमा लक्षित गरिनु हुँदैन।

अनुसन्धानमा सहयोग, भ्रामक प्रचारको प्रतिवाद

कांग्रेसले निष्पक्ष अनुसन्धानबाट आफूहरू पछि नहट्ने स्पष्ट पारेको छ। तर अपुष्ट आरोप र राजनीतिक पूर्वाग्रहका आधारमा पार्टी तथा नेतृत्वलाई दोषी ठहर गर्ने प्रवृत्ति स्वीकार्य नहुने वक्तव्यमा उल्लेख छ।

यस विषयमा निष्पक्ष छानबिनका लागि पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको सचिवालयले जनाएको छ।

कांग्रेसले सम्बन्धित सबै पक्षलाई तथ्य र प्रमाणका आधारमा जिम्मेवार ढङ्गले समाचार तथा सूचना सार्वजनिक गर्न आग्रह गरेको छ। साथै आमनागरिकलाई अपुष्ट विवरणका आधारमा भ्रममा नपर्न पनि अनुरोध गरेको छ।

वक्तव्यको अन्त्यमा कांग्रेसले लोकतन्त्र, सुशासन, जनसरोकार र विधिको शासनका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्‍याउँदै नागरिक स्वतन्त्रता र संवैधानिक सर्वोच्चताविरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने जनाएको छ।

प्रतिक्रिया