भरत प्रधान,लिस्बन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले मिडिया बलियो भए मात्रै लोकतन्त्र बलियो हुने बताएकी छन्।
शनिबार नेपाल पत्रकार महासङ्घ युरोप शाखाले पोर्चुगलको राजधानी लिस्बनमा आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने धारणा व्यक्त गरिन्। उनले राजनीतिक परिवर्तन भएर दुई तिहाइको सरकार आए पनि मिडियामाथि असहयोग भइरहेको बताइन् । सरकारी सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उनले उक्त निर्णयविरुद्ध महासंघ आन्दोलनरत रहेको बताइन्।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को पेरिसमा सम्पन्न विश्व सम्मेलनमा नेपाल पत्रकार महासंघले विज्ञापनसम्बन्धी विभेदकारी निर्णय तत्काल फिर्ता लिनुपर्ने प्रस्ताव पेश गरेको र उक्त प्रस्ताव सम्मेलनले संकल्पका रूपमा पारित गर्दै विज्ञापनसम्बन्धी विभेदकारी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको उनले बताइन् । अध्यक्ष शर्माले प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताउँदै सरकारले मिडियामाथि अंकुश लगाउन नहुने धारणा व्यक्त गरिन्।
अध्यक्ष शर्माले प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताउँदै सरकारले मिडियामाथि अङ्कुश लगाउन नहुने धारणा व्यक्त गरिन्। उनले कृत्रिम बुद्धिमत्ताको प्रभावका कारण पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत ‘कन्टेन्ट’का नाममा भ्रम फैलाउने प्रवृत्तिले पत्रकारितामा असर पारेको धारणा राखिन्। सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सूचना तथा समाचारको सत्यतथ्य परीक्षण गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन्। पत्रकार र सञ्चारमाध्यम पनि उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष शर्माले प्रवासी नेपाली समुदायका गतिविधि, समस्यालगायत विषयमा जानकारीमूलक तथा सूचनामूलक समाचार प्रवाह गर्न र पत्रकारितामार्फत समाजमा योगदान गर्न युरोपमा क्रियाशील नेपाली पत्रकारहरूलाई आग्रह समेत गरिन्।
कार्यक्रममा सहभागी पत्रकारहरूले युरोपमा नेपाली पत्रकारिताको अवस्था, चुनौती, अवसर तथा संस्थागत सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए। सहभागीहरूले प्रवासमा पत्रकारितालाई प्रभावकारी बनाउन केन्द्र र शाखाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन संस्थागत सहकार्यमा जोड दिएका थिए ।