२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

लन्डनमा नेपाली विद्यार्थीका चुनौतीमाथि गहन बहस: ‘डिग्री मात्र होइन, सीप र नेटवर्किङ नै सफलता’

0 Shares
Spread the love

सुरेन्द्र रुपाखेती,लन्डन । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका बहुआयामिक चुनौती र उपलब्ध अवसरबारे लन्डनमा आयोजित एक विशेष कार्यक्रममा शिक्षाविद्, नीति निर्माता र समुदायका प्रतिनिधिहरूले गहन छलफल गरेका छन्।

गैरआवासीय नेपाली संघ (NRNA) यूके र नेपाली दूतावास, लन्डनको संयुक्त आयोजनामा सम्पन्न “द प्लग” कार्यक्रममा सहभागी वक्ताहरूले“डिग्री मात्रले रोजगारी सुनिश्चित गर्दैन” भन्ने निष्कर्षसहित सीप, प्रस्तुतीकरण र व्यावसायिक सञ्जाल विस्तारलाई सफलता प्राप्तिको मुख्य आधारका रूपमा औंल्याएका छन्।

विद्यार्थी संख्या र आर्थिक प्रभाव: नेपालको उल्लेखनीय उपस्थिति
चेस्टर विश्वविद्यालयका ग्लोबल इम्प्याक्ट तथा अनुसन्धान डीन प्रा. पदम सिम्खडाले प्रस्तुत गरेको तथ्याङ्क अनुसार, बेलायतमा हाल करिब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन्, जसमा नेपाली विद्यार्थीको उपस्थिति उल्लेखनीय रूपमा बढ्दो छ।


नेपाल अहिले बेलायतमा विद्यार्थी पठाउने पाँचौँ ठूलो मुलुकका रूपमा स्थापित भएको छ। सन् २०२५ को अन्त्यसम्म करिब १९,५५३ नेपाली विद्यार्थीले अध्ययन भिसा प्राप्त गरेका छन्।


अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायती अर्थतन्त्रमा वार्षिक करिब ४१.९ अर्ब पाउन्ड योगदान पुर्‍याइरहेको तथ्यले पनि शिक्षा क्षेत्रको आर्थिक महत्त्व झल्काउँछ।
चुनौतीहरूको जटिलता: खर्च, अनुकूलन र मानसिक दबाब कार्यक्रममा विद्यार्थी प्रतिनिधि प्रेष्टा खनाललगायत वक्ताहरूले नेपाली विद्यार्थीहरूले सामना गरिरहेका प्रमुख समस्याहरूलाई स्पष्ट रूपमा औंल्याएका छन्।


आर्थिक दबाब: वार्षिक १५–२० हजार पाउन्डसम्मको ट्युसन फी र उच्च जीवनयापन खर्चले विद्यार्थीहरूलाई निरन्तर दबाबमा राखेको छ।
सांस्कृतिक र शैक्षिक अनुकूलन: फरक शिक्षण पद्धति, भाषागत अवरोध र नयाँ वातावरणमा घुलमिल हुन कठिन हुँदा मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको उल्लेख गरियो।


रोजगार पहुँचको चुनौती: डिग्री हासिल गरेपछि पनि स्थानीय रोजगार बजारमा प्रवेश गर्ने व्यावहारिक ज्ञान र सञ्जालको अभाव प्रमुख समस्या रहेको औंल्याइएको छ।


एनआरएनए र दूतावासको पहल


एनआरएनए आइसीसीका अध्यक्ष डा. हेमराज शर्माले विदेश जानुअघि नै विद्यार्थीहरूलाई स्वास्थ्य बीमा, कानुनी जानकारी र ‘प्रि–डिपार्चर ओरिएन्टेसन’ अनिवार्य गर्नुपर्नेमा जोड दिए।


उनले एनआरएनएमार्फत करियर फेयर, कानुनी परामर्श तथा विद्यार्थी कल्याण कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिँदै“विद्यार्थीलाई सुरक्षित र सक्षम बनाउने हाम्रो प्राथमिकता हो”भन्नुभयो।


नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले दूतावासले समस्यामा परेका तथा ‘होमलेस’ भएका विद्यार्थीहरूको उद्धारमा सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्दै विश्वविद्यालयहरूको अन्यायपूर्ण निर्णयविरुद्ध आवश्यक हस्तक्षेप भइरहेको जानकारी दिनुभयो।


शिक्षा क्षेत्रको व्यापारिकरणप्रति चिन्ता
कार्यक्रममा सहभागी उद्यमी हरि कार्की र अक्सफोर्ड विश्वविद्यालयका प्रा. कृष्ण अधिकारीले शिक्षा क्षेत्रमा बढ्दो व्यापारिकरण र भ्रामक परामर्श सेवाप्रति गम्भीर चिन्ता व्यक्त गरे।


कतिपय कन्सल्टेन्सीहरूले विद्यार्थीलाई अवास्तविक आश्वासन दिएर विदेश पठाउने प्रवृत्ति रोक्न नियमन आवश्यक रहेको उनीहरूको भनाइ थियो। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पनि यस्ता ठगीमा संलग्नमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।


सफलताको सूत्र: सीप, नेटवर्किङ र आत्म–प्रस्तुतीकरण
वक्ताहरूले नेपाली विद्यार्थीहरूको क्षमता उच्च भए पनि आफूलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीपको अभाव रहेको उल्लेख गरे।
प्रत्येक रोजगारीका लागि अनुकूलित सीभी र कभर लेटर तयार गर्नुपर्ने
नेटवर्किङ विस्तार अनिवार्य भएको आत्मविश्वाससहित प्रस्तुतीकरण सीप विकास गर्नुपर्ने जस्ता सुझावहरू कार्यक्रममा जोडका साथ उठाइए।


उद्यमी विकास नेपालले आफ्नो अनुभव साझा गर्दै सन् २००९ मा विद्यार्थीका रूपमा सुरु गरेको यात्रा आज २५ देशमा फैलिएको व्यवसायमा रूपान्तरण भएको उल्लेख गर्दै “संघर्ष र निरन्तरता नै सफलता हो”भन्नुभयो।


समन्वय र सहकार्यको प्रतिबद्धता


कार्यक्रमका संयोजक तथा एनआरएनए यूके उपाध्यक्ष डा. रक्षा थापा, अध्यक्ष राजेन्द्र पुडासैनी र प्रवक्ता श्याम लुइँटेलले बेलायतमा रहेका नेपाली विद्यार्थी तथा युवा पेशेवरहरूको हितका लागि सामूहिक पहल र दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया