लन्डन।प्रवासी नेपालीहरूको सक्रियतामा बाल स्वास्थ्य क्षेत्र सुदृढ गर्ने उद्देश्यसहित लन्डनमा आयोजित च्यारिटी कार्यक्रमले नेपाल–बेलायत सहकार्यलाई नयाँ उचाइ दिएको छ। वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइराला को नेतृत्वमा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि आयोजित उक्त कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको सामाजिक प्रतिबद्धता पुनः उजागर गरेको छ।
ह्यारोस्थित ब्लु रुममा के–पाल्स यूकेद्वारा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुति, राफल ड्र र अक्शनमार्फत सहयोग संकलन गरिएको थियो। कार्यक्रममा स्वास्थ्य, सामाजिक उत्तरदायित्व र प्रवासी योगदानका विविध आयामहरू समेटिएका थिए।
बाल स्वास्थ्यमा दीर्घकालीन दृष्टि
भर्चुअल माध्यमबाट सम्बोधन गर्दै डा भगवान कोइराला ले सन् २०१७ मा गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले देशभरका बालबालिकालाई गुणस्तरीय, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको बताए।
उनका अनुसार मातृ तथा शिशु मृत्यु दरमा सुधार भए पनि नेपालमा बाल मृत्युदर अझै विकसित मुलुकहरूको तुलनामा उच्च छ। यही सन्दर्भमा सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने दीर्घकालीन योजना अघि बढाइएको उनले जानकारी दिए।
दमकमा सञ्चालनमा रहेको अस्पताल र काठमाडौंको बुढानिलकण्ठस्थित केन्द्रीय अस्पताल निर्माणाधीन रहेको उल्लेख गर्दै उनले सहयोग गर्ने सबै संस्था र प्रवासी नेपालीहरूप्रति आभार व्यक्त गरे।
राजनयिक समर्थन र प्रवासी योगदान
कार्यक्रमका प्रमुख अतिथि बिपिन दुवाडी ले नेपाल सरकारले बाल स्वास्थ्य सुधारका लागि प्रयास गरिरहे पनि गैरसरकारी तथा प्रवासी पहलहरू अत्यन्तै महत्वपूर्ण रहेको बताए।
उनले बेलायतलगायत विश्वभर रहेका नेपालीहरूको योगदानले शिक्षा र स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गरे।
प्रेरणा, कला र सामाजिक सन्देश
कार्यक्रममा डा सुदर्शन गुरुङ ले सांगीतिक प्रस्तुति दिएका थिए भने कलाकारहरू प्रतिष्ठा त्रिपाठी, कविता रानामगर, दीप्ति कोजु, अरिशा शाक्य र आइशा मोक्तान ले नृत्य प्रस्तुत गरेका थिए।
कीर्तिमानी पर्वतारोही हरि बुढामगर ले अपांगता भएका व्यक्तिहरूले पनि असम्भवलाई सम्भव बनाउन सक्छन् भन्ने सन्देश दिँदै बालबालिकाको भविष्य निर्माणमा सबैले हातेमालो गर्नुपर्ने बताए।
पारदर्शिता र दीर्घकालीन सहयोगमा जोड
एनआरएनए आइसीसीका उपाध्यक्ष रामशरण सिम्खडा ले सहयोग संकलनमा पारदर्शिताको महत्व औंल्याउँदै जुटेको रकमको प्रभावकारी उपयोगमा जोड दिए।
त्यस्तै, एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी ले राज्यले गर्नुपर्ने कार्यमा च्यारिटी संस्थाहरू अग्रसर भएको उल्लेख गर्दै बाल स्वास्थ्य अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
संस्थागत भूमिका र उद्देश्य
के–पाल्स यूकेका ट्रष्टी डा दुर्गा सिग्देल ले संस्थाले आर्थिक सहयोगसँगै चिकित्सकीय उपकरण उपलब्ध गराउने, जनशक्ति प्रशिक्षण र सीप हस्तान्तरणमा काम गरिरहेको जानकारी दिए।
कार्यक्रम सञ्चालन प्रसुना कडेल ले गरेकी थिइन् भने प्रा. डा सत्यन राजभण्डारी र डा रमेश कोजु ले आयोजनामा सक्रिय भूमिका निर्वाह गरेका थिए।