लिस्बन । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले भव्यताका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाएको छ ।
मञ्जुश्री सम्बत् २८६२ ता ल्हो (घोडा वर्ग) को अवसर पारेर घेदुङले आईतवार राजधानी लिस्बनमा “सोनाम ल्होछार विशेष बृहत् सांगीतिक साँझ-२०२६” का साथ ल्होछार मनाएको हो । तामाङ जातिको कला, भाषा, धर्म र संस्कृतिको प्रबर्द्धन र जगेर्ना गर्ने उद्धेश्यका साथ पूरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत स्वरुप भव्य कार्यक्रमका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाइएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले बताए ।

सो अवसरमा चर्चित गायक उर्गेन दोङ र मेन्दोमाया गायिका रमला पाख्रिनले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा गायक दोङ र गायिका पाख्रिनका साथै अन्य राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिले सहभागीहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा तामाङ समुदायको सँस्कृति झल्कने खालका विशेष साँस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएको थियोे ।
घेदुङका अध्यक्ष इमानसिंह तामाङकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपाल, एनआरएनएका केन्द्रीय सचिव तिलक गैर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
घेदुङले गत वर्ष पनि भव्यताका साथ सोनाम ल्होछार मनाएको थियोे ।
