लिस्बन । चर्चित गायक उर्गेन दोङ र मेन्दोमाया गायिका रमला पाख्रिनले आज पोर्चुगलको राजधानी लिस्बनमा सांगीतिक धमाका मच्चाउने भएका छन् ।
मञ्जुश्री सम्बत् २८६२ ता ल्हो (घोडा वर्ग) को अवसर पारेर नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले आज आईतवार राजधानी लिस्बनमा आयोजना गरेको “सोनाम ल्होछार विशेष बृहत् सांगीतिक साँझ-२०२६” मा गायक दोङ र गायिका पाख्रिनले सांगीतिक धमाका मच्चाउने भएका हुन् । लिस्बनको अल्भलादेस्थित रिपब्लिका दा म्यूजिका (Republica Da Musica, Rua Do Centro Cultural 29, 1700-106) मा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था घेदुङले जनाएको छ ।
कार्यक्रममा गायक दोङ र गायिका पाख्रिन सहित अन्य ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहनेछ । साथै, तामाङ समुदायको सँस्कृति झल्कने खालका विशेष साँस्कृतिक झलकहरु समेत प्रस्तुत हुने घेदुङले जनाएको छ । तामाङ जातिको कला, भाषा, धर्म र संस्कृतिको प्रबर्द्धन र जगेर्ना गर्ने उद्धेश्यका साथ पूरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत स्वरुप विशेष कार्यक्रमका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाउन लागिएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले बताए ।
तामाङका अनुसार “नेपाल राष्ट्रिय तामाङ घेदुङ पोचुगलको शान, भेषभुषा, भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिको संरक्षण एवं बिश्व भरिका तामाङहरुको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ भव्य रुपमा सोनाम ल्होछार मनाउन लागिएको हो । सो अवसरमा लामागुरुबाट विशेष पूजापाठ समेत गरिने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी तामाङ तथा गैर तामाङ नेपाली समुदायलाई घेदुङले बिशेष आग्रह समेत गरेको छ ।