लिस्बन। नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले विशेष कार्यक्रमका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाउने भएको छ।
घेदुङले मञ्जुश्री सम्बत् २८६२ ता ल्हो (घोडा वर्ग) को अवसर पारेर यही फेब्रुअरी ८ तारिख आईतवारका दिन राजधानी लिस्बनमा “सोनाम ल्होछार विशेष बृहत् सांगीतिक साँझ-२०२६” को आयोजना गरेर विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाउने भएको हो । “नेपाल राष्ट्रिय तामाङ घेदुङ पोचुगलको शान, भेषभुषा, भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिको संरक्षण एवं बिश्व भरिका तामाङहरुको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ भव्य रुपमा सोनाम ल्होछार मनाउन लागिएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले बताए।
तामाङ जातिको कला, भाषा, धर्म र संस्कृतिको प्रबर्द्धन र जगेर्ना गर्ने उद्धेश्यका साथ पूरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत स्वरुप ल्होछार मनाउन लागिएको तामाङले बताए । सो अवसरमा लामागुरुबाट विशेष पूजापाठ समेत गरिने जनाइएको छ । कार्यक्रममा तामाङ समुदायको सँस्कृति झल्कने खालका विशेष साँस्कृतिक झलकहरु प्रस्तुत हुने घेदुङले जनाएको छ ।
कार्यक्रममा चर्चित गायक उर्गेन दोङ र मेन्दोमाया तथा तामाङ सेलो गायिका रमला पाख्रिनको विशेष प्रस्तुति रहनेछ । भने अन्य ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने घेदुङले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी तामाङ तथा गैर तामाङ नेपाली समुदायलाई घेदुङले बिशेष आग्रह समेत गरेको छ । कार्यक्रम लिस्बन अल्भलादेस्थित रिपब्लिका दा म्यूजिका (Republica Da Musica, Rua Do Centro Cultural 29, 1700-106) मा हुने आयोजक संस्था घेदुङले जनाएको छ।