२०८२, २२ माघ बुधबार
×

ट्रेन्डिङ

पोर्तोमा घुम्ती शिविर, झण्डै १ सय नेपाली लाभान्वित

0 Shares
Spread the love

भरत प्रधान,लिस्बन। पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ ।

दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविरको आयोजना गरेर सो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट ५० जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको दूतावासले जनाएको छ । शिविरबाट आठ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण, १३ जनाको अन्य कागजात प्रमाणीकरण, ५० जनाको राहदानी आवेदन, १५ जनाको राहदानी वितरणलगायत अन्य सेवा गरी झण्डै १०० नेपालीले सेवा लिएको दूतावासका नियोग उपप्रमुख शत्रुध्वनप्रसाद शर्मा पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार शिविरबाट सात हजार २८५ युरो अर्थात् झण्डै १२ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका पोर्तोवासी नेपालीको सहजताका लागि सोही स्थानमै पुगेर घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए । शिविरमा आएका सेवाग्राहीले पोर्तोमै दूतावासको सेवा पाउँदा सहज भएको भन्दै खुसी व्यक्त गरेको पोखरेलले बताए।

शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो । यस्तै तयार भएर आएको राहदानी वितरण, प्रहरी रिपोर्टलगायतका अन्य कागजात प्रमाणीकरणलगायतका ‘कन्सुलर’ सेवा प्रदान गरिएको थियो ।

यसअघि दूतावासले पोर्चुगलको फारो र मदेइरामा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया