२०८२, २२ माघ बुधबार
×

ट्रेन्डिङ

पोर्चुगलस्थित नेपाली दूतावासले पोर्तोमा घुम्ती शिविर सञ्चालन गर्ने

0 Shares
Spread the love

भरत प्रधान,लिस्बन (पोर्चुगल) । पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तोमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुई दिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

दूतावासले यही जनवरी २४ र २५ तारिखका दिन पोर्तोको भिला नोभा दि गइयास्थित नमस्ते पोर्तो रेष्टुरेन्टको हलमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुई दिने घुम्ती शिविर सञ्चालन गर्ने भएको हो । राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका पोर्तो क्षेत्रका नेपालीलाई सोही स्थानमै सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप शिविर सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ । दूतावासले टोली खटाएर पोर्तो सहरमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।

दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद एक वर्ष भन्दा कम भएकाहरुको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ । साथै राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, पारिवारिक कागजात प्रमाणीकरण, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण, राहदानी वितरण लगायतका कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ ।

राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरुलाई घुम्ती शिविर मार्फत् सहज सेवा उपलब्ध गराउने योजना अनुरुप पोर्तोमा शिविर सञ्चालन गर्न लागिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताउनुभयो । दूतावास धाउन टाढा भएकै कारण पोर्तो क्षेत्रमा रहेका नेपालीहरुलाई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले टोली खटाएरै सेवा दिन लागिएको पौडेलले बताउनुभयो । शिविरबाट राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण लगायतका आवश्यक सेवा लिन पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राजदूत पौडलले आग्रह समेत गर्नुभयो ।

यसअघि दूतावासले पोर्चुगलको फारो र मदेइरामा घुम्ती शिविर सञ्चालन गरेर सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई सेवा प्रदान गरेको थियोे ।

प्रतिक्रिया